तीन दिनमा ५८ जनाको मृत्यु, २६ बेपत्ता, १५ घाइते

काठमाडौं । अविरल वर्षाका कारण बुधबार साँझसम्म ५८ जनाको ज्यान गएको नेपाल प्रहरीले जनाएको छ ।

सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी बुधबार साँझसम्म ५८ जनाको मृत्यु भएको प्रहरी मुख्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बाढीपहिरोमा परी प्रदेश नं. १ मा ३० जनाको मृत्यु भएको छ । बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा २० जनाको मृत्यु भएको छ ।

प्रदेश नं. १ मा १४ जना र कर्णाली प्रदेशमा १ जना गरी १५ जना बाढीपहिरोमा परेर घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

बाढीपहिरोमा परी प्रदेश नं. १ मा ३ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी २६ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी रहेको विज्ञप्तिमा उल्लेख छ ।

बाढीको कारण १ हजार २८ वटा घर डुबानमा परेका छन् । ३० वटा घर, २ वटा गोठ, ४ वटा पुल, र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।

१ सय १ वटा पशु चौपायको मृत्यु भएको छ । यो अवधिमा भएका १ सय ३४ वटा विपदका घटनाबाट १ हजार ५० घरपरिवार विस्थापित भएका छन् ।

कतिपय स्थानमा भएको बाटो अवरोध हटाउने कार्य प्रहरीले जारी राखेको छ । सल्यान कपुरकोट गाउँपालिका–५ अरिङगालेफेदीस्थित राप्ती राजमार्ग, दैलेख गुराँस गाउँपालिका–४ लुहा खोलास्थित सुर्खेत दैलेख सडक खण्ड, लमजुङ मर्स्याङदी गाउँपालिका–४ अर्खलेबेशीस्थित बेसीशहर मनाङ सडकखण्ड खुलाउने कार्य जारी रहेको छ ।

बैतडीको दोगडा केदार गाउँपालिका–६ सल्सेना र चम्तडी भन्ने स्थानमा, ईलाम देउमाई नगरपालिका–३ मुलखर्कस्थित झुत्रेखोला नजिक नेपालटार–मंगलबारे सडक खण्ड र दार्चुला शैल्यशिखर नगरपालिका–६ पनेबाज दुधलिगाड, गवानी र सोही नगरपालिका–५ बगौडास्थित सडक खण्ड लगायत विभिन्न स्थानमा भएको सडक अवरोध खुलाउने कार्य हाल जारी छ ।

बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ ।

Published : Wednesday, 2021 October 20, 9:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया