कांग्रेस नेता बानियाँद्वारा आश्रम र कैदीबन्दीलाई सहयोग प्रदान

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर कांग्रेसका सभापति इन्द्रबहादुर बानियाँले भीमफेदी कारागारका कैदीबन्दीलाई दशैं मनाउन सहयोग गरेका छन् ।

नेता बानियाँ र राक्सिराङ गाउँपालिकाले कारागारका कैदीबन्दीलाई दशैं मनाउन खसी र खाद्यान्न सहयोग गरेका हुन् । कारागारमा राक्सिराङ गाउँपालिकाका मात्रै ४१ जना रहेकाले पालिकाले आफ्नै खर्चमा दशैंमा खाद्यान्न लगायतका सामग्री वितरण गर्दै आएको छ ।

कारागारमा रहेकाहरूलाई नेता बानियाँले व्यक्तिगत ६० हजार रुपियाँ प्रदान गरेका थिए । सामाजिक एवं मानवीय भावनाको आधारमा कारागारमा रहेका कैदीबन्दीको दशैं सुखद बनाउन सहयोग गरेको बानियाँले बताएका छन् ।

दशैं सबैको पर्व भएको बताउँदै बानियाँले कारागारभित्रका कैदीबन्दीलाई प्राप्त सहयोगबाट उत्साहपूर्वक पर्व मनाउन उनले सुझाव दिएका छन् ।

जीउने आधार र विकल्प नभएर गाँजा खेती गर्नुपर्ने अवस्थाका व्यक्तिहरू जेलमा रहेको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । गाउँपालिका सबैको अभिभावक भएकाले पालिकाका बासिन्दाको केही व्यक्ति कारागारमा रहँदा दशैं खल्लो नहोस् भनेर केही राहत दिएको उनले बताए ।

कार्यक्रममा पालिका उपाध्यक्ष निर्मला हिम्डुङ, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश वर्तौला, नेताहरू रञ्जन कालाखेती, विदुर थापा लगायतको उपस्थिति रहेको थियो ।

भीमफेदी कारागारमा लागूऔषध मुद्दामा मकवानपुरको हेटौंडा उपमहानगरका ४४, राक्सिराङका ४१, कैलाशका १४, बकैयाका ३, भीमफेदीका ३, मनहरीका १६ र थाहानगरपालिकाका २ जना गरी १ सय २३ जनाले जेल जीवन बिताइरहेका छन् ।
यसैबीच, नेता बानियाँले आफ्नो सेवासुविधाबापत प्राप्त रकममध्येबाट एक लाख रूपियाँ मानव सेवा आश्रमलाई सहयोग गरेका छन् । उनले सहयोग रकम आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीलाई हेटौंडा आश्रममा पुगेर हस्तान्तरण गरेका हुन् । मानवीय सेवामा अनुकरणीय काम गरिरहेको आश्रममा आश्रितहरूको सेवामा सहयोग पुगोस् भन्ने उद्धेश्यले आफ्नो सेवासुविधाबापतको रकम हस्तान्तरण गरेको बानियाँले बताए ।

उनले आश्रमले परिवारबाट विछोड भएका, मानसिक रूपमा विक्षिप्त, शरीरिक रूपमा अशक्त र सडकमा कठिन जीवन विताउने क्रममा जन्मिएका र अलपत्र भेटिएका शिशुको गाँसबास, उपचार एवं बृत्तिबिकास र पुनर्मिलनमा गरेको कार्य मानवताको उच्चतम उदाहरण भएको बताउँदै निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आश्रम र संस्थापक अध्यक्ष रामजी अधिकारीसहित आश्रम परिवारको कामको प्रशंसा समेत गरेका थिए । उनले आश्रममा आश्रित अग्रजबाट टीका ग्रहणका साथै बालबालिकाहरूलाई दशैंको टीका समेत लगाई दिएका थिए । बानियाँले आश्रमलाई नियमित सहयोग गर्दै आएका छन् ।
प्रदेशसभा सदस्य बानियाँबाट प्राप्त सहयोग आश्रममा आश्रितहरूको गाँसबास र उपचारमा सदुपयोग गर्ने अधिकारीले बताए ।
बानियाँले केही दिन अघि मकवानपुरको भीमफेदी कारागारमा रहेका कैदीबन्दीलाई दशैं मनाउन ६० हजार रूपैयाँ सहयोग गरेका थिए । उनले सांसद बापत प्राप्त सेवा सुविधा सामाजिक हितमा खर्चिदै आएका छन् ।

Published : Sunday, 2021 October 17, 12:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया