मोतीपुरमा उत्तेजित भिडद्वारा प्रहरीमाथि पेट्रोल बमसहित ‘अट्याक’, संयमित हुन अपील, ४ जना ढले

बुटवल । स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूको पूर्वसूचनाका बाबजुद सुकुम्वासीका नाममा औद्योगिक क्षेत्रको जमीन कब्जा गरेर बसेको समूहले सुरक्षाकर्मीमाथि पेट्रोल बम, घरेलु हतियार, लाठी, भाटासहित उत्तेजित रुपमा आक्रमण गर्दा भएको झडपमा ४ जनाको मृत्यु भएको छ ।

रुपन्देही जिल्लाको मोतीपुरस्थित औद्योगिक क्षेत्रको जमीनलाई अतिक्रमण गर्ने समूह उग्ररुपमा प्रदर्शन गरेर सुरक्षाकर्मीहरूको अस्थायी पोस्टमा आक्रमण गरेपछि झडप भएको हो । पेट्रोल बम, ढुंगामुडा, घरेलु हतियार, लाठी, भाटासहित सुरक्षाकर्मीमाथि आक्रमण भएपछि स्थितिले तनावको अवस्था ल्याएको थियो ।

सुरक्षाकर्मीले संयमता अपनाएकै कारण अझै ठूलो क्षति हुन पाएन । स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले मोतीपुर क्षेत्रमा कफ्यु आदेश समेत जारी गरेको छ ।

रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ऋषिराम तिवारीले मोतीपुरको औद्योगिक क्षेत्रको जमीन संरक्षण गर्ने क्रममा अस्थायी घर टहरा बनाएर बसेका स्थानीयले सुरक्षाकर्मीमाथि आक्रमण गरको जानकारी दिए ।

तिवारीले भने, ‘हामीले मोतीपुरको औद्योगिक क्षेत्रको जमीन संरक्षण गर्ने विषयमा लामो सूचना दिएर निषेधाज्ञा जारी गरेर जमीन खाली गर्न भनेका थियौँ ।’

प्रदर्शनकारीहरूले सुरक्षाकर्मी र अस्थायी पोस्टमा आक्रमण गरेपछि भिडलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाउँदा चार जना प्रशर्दनकारीको मृत्यु भएको सीडीओ तिवारीले जानकारी दिए ।

सीडीओ तिवारीले प्रदर्शनकारीको तर्फबाट सुरक्षाकर्मीमाथि पेट्रोल बम प्रहार भएको जानकारी दिएका छन् ।

सुरक्षाकर्मीको गोली लागेर कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका–१० निवासी ३० वर्षीय रमेश परियारको मृत्यु भएको छ । बाँकी तीन जनाको सनाखत हुन सकेको छैन ।

यसैबीच, मोतीपुरको घटना भएपछि स्थानीय राजनीतिक दलहरूको आकस्मिक रुपमा सर्वदलीय बैठक बसेको छ ।

बैठकले झडपमा घाइते भएका सबैको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।

‘मोतीपुरको औद्योगिक जमीनको संरक्षण गर्ने, स्थानीयस्तरमा केही समस्या छ, ती समस्या समाधानका लागि नेपाल सरकारलाई लेखेर पठाउने निर्णय भएको छ’, सीडीओ तिवारीले भने, ‘प्रदर्शनकारीलाई संयमित हुन अनुरोध गर्ने निर्णय भएको छ ।’

झडपमा नेपाल प्रहरीका १६ र सशस्त्र प्रहरी बल नेपालका १५ जना घाइते भएका छन् । घाइते हुनेमा एसपी पनि रहेका छन् । प्रदर्शनकारीबाट प्रहार भएको पेट्रोल बलमे सुरक्षाकर्मीहरू घाइते भएको सीडीओ तिवारीले बताएका छन् ।

Published : Sunday, 2021 October 10, 10:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया