सरकारमा सहभागी भएको तीन दिनभित्रै उपेन्द्र यादवका मान्छे पैसासहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका– ५ का वडाध्यक्ष रामबहादुर महतो पक्राउ परेका छन् ।

जन्मदर्ताको सिफारिस दिँदा १० हजार घुस लिएको अभियोगमा वडाध्यक्ष महतो पक्राउ परेका हुन् । उनलाई अख्तियारको टोलीले आइतबार कार्यालयभित्रबाट पक्राउ परेको थियो ।

अख्तियारको टोलीले अनुसन्धानका लागि वडाध्यक्ष महतोसँगै सहायक कम्प्युटर अपरेटर अब्दुल राईनलाई पनि पक्राउ गरेको छ ।

‘जन्म दर्ताको सिफारिस गरिदिएवापत सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निजहरूलाई सेवाग्राहीबाट दश हजार रुपियाँ लिइसकेको अवस्थामा रकमसहित कार्यालयबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ’, सहायक प्रवक्ता वेदप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले पनि वडाध्यक्ष महतो घुससहित पक्राउ परेको पुष्टि गरेका छन् । मण्डलले पक्राउ परेका सहायक कम्प्युटर अपरेटर राईनलाई अख्तियारले सोधुपछका लागि मात्रै लगिएको बताएका छन् ।

घुससहित पक्राउ परेका वडाध्यक्ष महतो जनता समाजवादी पार्टी, नेपाल (जसपा)बाट निर्वाचित भएका हुन् । उपेन्द्र यादवले केन्द्रमा उत्पात मच्चाइरहेका बेला उनको दलका वडाध्यक्ष महतो घुससहित पक्राउ परेका छन् ।

जसपा सरकारमा सहभागी भएको तीन दिनभित्र सो पार्टीका वडाध्यक्ष घुसको रकमसहित पक्राउ परेका छन् ।

प्रदेश नं. २ को मुख्यमन्त्रीको कार्यालयमा छापामारेर साइकल खरिद काण्डको भ्रष्टाचारमा अनुसन्धान गरिरहेका बेला उपेन्द्र यादवको दलकै वडाध्यक्षको भ्रष्टाचार काण्ड बाहिर आएको छ ।

उपेन्द्र यादव र उनको दल प्रदेश नं. २ मा भ्रष्टाचार काण्डमा नराम्रोसँग फस्दै गएको छ ।

Published : Sunday, 2021 October 10, 8:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया