डा.महत र आदित्यनाथबीच भेट, नेपालीहरूले भोग्नु परेको कठिनाइ समाधान गर्न आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री एवम् पूर्वपरराष्ट्रमन्त्री डा.प्रकाशशरण महत नेतृत्वको टोलीले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेको छ ।

शनिबार लखनउमा डा.महतसहितका नेताहरूले आदित्यनाथसँग भेटवार्ता गरेका हुन् । डा.महतले नेपाल र भारतको मित्रता निकै नजिकको रहेको भन्दै यो सम्बन्धलाई अझै प्रगाढ बनाउनुपर्ने बताएका छन् ।

डा.महतले भारतीय सहर र सीमा क्षेत्रमा नेपालीले भोग्ने समस्यातर्फ मुख्यमन्त्री आदित्यनाथको ध्यानाकर्षण गराएका छन् ।

बनारसमा रहेको नेपाली पशुपतिनाथ मन्दिरको संरक्षणको कुरा पनि सह–महामन्त्री डा.महतले उठाएका छन् ।

डा.महतसँग मुख्यमन्त्री आदित्यनाथले नेपाल र नेपालीको राष्ट्रियता बलियो हुनु भारतको लागि हितकर रहेको बताएका थिए । भारतको सबैभन्दा नजिकको मित्र नेपाल रहेको भन्दै मुख्यमन्त्री आदित्यनाथले नेपालको समृद्धि भारतीय जनताले चाहेको बताएका छन् ।

आदित्यनाथले समान धर्म र संस्कृति रहेको दुई देशका जनताबीचको सम्बनधलाई थप बलियो बनाउनुपर्नेमा दुवै पक्षका सरकारले जोड दिनुपर्ने बताएका छन् ।

भारतीय जनता पार्टी (भाजप)को विदेश विभागका प्रमुख डा.विजय चौथाइवालेको निमन्त्रणमा कांग्रेसका सह–महामन्त्री एवम् पूर्वपरराष्ट्रमन्त्री डा.महत, केन्द्रीय सदस्य अजयकुमार चौरसिया र पूर्वराज्यमन्त्री उदयशम्शेर राणा भारत भ्रमणमा छन् ।

यसअघि डा.महत नेतृत्वको टोलीले बिजेपीका राष्ट्रिय अध्यक्ष जेपी नड्डा, विदेशमन्त्री डा.एस.जयशंकर र भाजपाका राष्ट्रिय महासचिवसहितका पदाधिकारीहरूसँग भेटघाट गरेका थिए ।

Published : Saturday, 2021 October 9, 9:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया