ओलीका लागि मंगलबार यस कारण सबैभन्दा ठूलो तनाबको दिन, डोलेश्वर काण्डले काम गरेन
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) मा विवाद भइरहेका बेला उपेन्द्र यादव र महन्थ ठाकुरबीच नयाँ सहमति भएको छ ।
यादव र ठाकुरबीच मंगलबार जारी संयुक्त विज्ञप्तिमा सहमति भएको उल्लेख छ ।
उनीहरूले तत्काल सरकारमा नजाने निर्णय गरेका छन् । राष्ट्रिय सहमति वा आफ्नै नेतृत्वमा नयाँ सरकार बन्ने अवस्थामा सरकार गठनमा अगाडि बढ्ने सहमति भएको यादव–ठाकुरले भनेका छन् ।
जसपाका नेताहरू मनीष सुमन, मृगेन्द्र यादव, रेणु यादव, मोहम्मद इस्तियाक राई, प्रकाश सिंह र गंगानारायण श्रेष्ठले यादव र ठाकुरलाई नजिक ल्याउन दवाव सिर्जना गरेका थिए । उनीहरूकै दवावमा यादव र ठाकुरले सहमति गरेर संयुक्त रुपमा विज्ञप्ति जारी गरेका हुन् ।
ठाकुरले प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई समर्थन गरेका थिए । यादवले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन प्रयास गरेका थिए । सोही कारणले यादव र ठाकुरबीच विवाद भएर पार्टी फुटको संघारसम्म पुगेको थियो ।
ठाकुरले आफ्नो गल्तीलाई स्वीकार गरेर तत्काल ओली सरकारमा नजान सहमत भएका भएका छन् । यादवले कार्यकारिणी समितिको बहुमतका आधारमा निर्णयहरू नगर्ने भएका छन् ।
यादव र ठाकुरको संयुक्त विज्ञप्तिले कम्युनिस्ट प्रधानमन्त्री ओलीको सरकारको भविष्य अनिश्चित बनेको छ ।
३० दिनभित्र ओलीले संसदबाट विश्वासको मत लिनुपर्नेछ । जसपाले साथ दिएन भने ओलीको सरकार ढल्नेछ ।
संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले ३० वैशाखमा संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त गरेका थिए ।
‘राष्ट्रिय सहमति वा आफ्नै नेतृत्वको सरकार बन्ने अवसर प्राप्त हुनसक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिनेछ’, यादव–ठाकुरको संयुक्त विज्ञप्तिमा भनिएको छ ।
बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेर पूर्व प्रधानमन्त्री बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको प्रस्ताव राखेका थिए ।
जसपाले जेठ ८ गते कार्यकारिणीको बैठक बोलाएको छ । सो बैठकबाट मुलुकको पछिल्लो अवस्थाका बारेमा निर्णय गर्नेछ ।
भक्तपुरको डोलेश्वर रिसोर्टमा एमालेका नेता महेश बस्नेतको उपस्थितिमा ठाकुर समूहका १४ जना सांसदले संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेको थियो ।
डोलेश्वर रिसोर्टको निर्णयलाई यादव–ठाकुरले नमान्ने सहमति गरेका छन् । योसँगै महतोको संसदीय दलको नेताको पद समाप्त भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया