शंकर पोखरेललाई बचाउन लफडा गरेका यी चार सांसदको पद जोगियो

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी नेपाल (जसपा)का चार जना सांसदहरूलाई पुनर्वहाली गर्न आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सोमबार कारबाहीमा परेका जसपाका चार सांसदहरू सन्तोष पाण्डेय, सुमन शर्मा रायमाझी, विजयबहादुर यादव र कल्पना पाण्डेलाई पुनःवहाली गर्न आदेश दिएको हो ।

सर्वोच्चले निर्वाचित चार सांसदलाई पदमुक्त गर्ने प्रदेशसभा सचिवालयको निर्णय संविधान र कानूनसम्मत नभएको ठहर गरेको छ ।

पार्टीको विधान र अनुशासन विपरितको कार्य गरेका ती चार जनालाई जसपाका अध्यक्ष उपेन्द्र यादव समूहले कारबाही गरेर सांसद पदबाट हटाएको थियो । उनीहरू वैशाख १७ गते पदमुक्त भएका थिए ।

पार्टीको निर्णय र निर्देशन विपरित लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई साथ दिएपछि उपेन्द्र यादव समूहले उनीहरूलाई कारबाही गरेको हो । उनीहरू चार जना एमाले नेतृत्वको सरकारमा मन्त्री छन् ।

लुम्बिनी प्रदेशमा जसपाका ६ जना सांसद छन् । ४ जना सांसदले विद्रोह गरेर एमालेसँग साँठगाँठ गरेका थिए ।

निवेदकहरूलाई निष्कासन गर्नुअघि सम्बन्धित दलले अनिवार्यरुपमा सफाइको मौका दिनुपर्ने कार्यविधिको पालना नगरेको देखिएकाले प्रथम दृष्टिमा नै उक्त प्रक्रिया गलत रहेको र लुम्बिनी प्रदेशका सभामुखबाट समेत सोही बमोजिम सूचना जारी भएको देखिएकाले सुविधा र सन्ख्तुलनको दृष्टिले समेत दुवै पक्षबीच छलफल हुनुपर्ने अदालतको आदेशमा भनिएको छ ।

Published : Monday, 2021 May 17, 7:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया