जनतालाई खोप दिन देउवाको दवाव, कांग्रेसबाट जितेका जनप्रतिनिधिको प्रशंसनीय काम, उच्च मूल्यांकन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतालाई भ्याक्सिन दिनका लागि सरकारलाई दवाव दिनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिले सोमबार गण्डकी प्रदेशका जिल्ला सभापति र जनप्रतिनिधिहरूसँग गरेको जुम मिटिङलाई सम्बोधन गर्दै देउवाले सबै जनतालाई खोप लगाइदिएर जीवन बचाउने दायित्व सरकारको भएको बताए । उनले खोपका लागि सरकारलाई दबाब सिर्जना गर्नुपर्ने बताए ।

उनले भने, ‘सरकारको काम भ्याक्सिन ल्याएर लगाइदिने हो । कोरोना टेष्ट गराउने हो । भेन्टिलेटरको व्यवस्था गर्नुपर्छ । अक्सिजनको व्यवस्था गर्ने आवश्यक काम हो । सबैले दवाव दिनुपर्छ । अक्सिजन प्लान्टका लागि दवाव दिने हो । खोप ल्याउन बाध्य बनाउनुपर्छ ।’

कांग्रेस सभापति देउवाले आफूले गर्न सहयोग पनि गर्नुपर्छ । ‘जिल्लामा हाम्रा साथीहरूले राम्रो काम गर्नुभएको छ । आफू पनि सुरक्षित रहेर काम गर्नुपर्छ’, उनले भने, ‘सरकारले कोरोनाको उपचार र रोकथाममा काम गर्न सकेको छैन । लापरबाही गरेको छ ।’

कांग्रेस निकटका जनप्रतिनिधिहरूले जिल्लामा राम्रो काम गरेको भन्दै देउवाले खुसी व्यक्त गरेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री खड्गप्रसाद ओलीले कोरोना कन्ट्रोल गर्न नसकेको भनेर हात उठाएको बताए । उनले हाच्छिउँ गरेर र बेसार पानी खाएर कोरोना निको पार्ने भन्ने अभिव्यक्ति दिने अभिव्यक्ति दिने ओलीले पनि हात उठाएको बताए ।

समाजमा अनुशासन पालना गर्नुपर्ने बताएका पौडेलले राज्यले पक्षपातको व्यवहार गरेको आरोप लगाए । उनले राज्यले जनताको रक्षा गर्नका लागि दवाव दिनुपर्ने बताए ।

महामन्त्री डा.शशांक कोइरालाले जिल्ला–जिल्लामा कांग्रेसका साथीहरूले राम्रो काम गरेको भन्दै प्रशंसा गरेका छन् । उनले कोरोना महामारीका बेला कांग्रेसका नेताहरूले गरेको कार्य उच्च प्रशंसनीय रहेको बताए ।

डा.कोइरालाले कोरोना महामारी रोक्नका लागि पार्टीका साथीहरू क्रियाशील रहेको भन्दै खुसी व्यक्त गरे । उनले सबै मिलेर कोभिड–१९ विरुद्ध संघर्ष गर्नुपर्ने बताए ।

सरकारले कोरोना नियन्त्रण र उपचारमा गैरजिम्मेवारी भएको डा.कोइरालाले बताएका छन् । भारतबाट आउने मानिसहरूको उचित व्यवस्थापान नहुँदा गाउँसम्म कोरोना पुगेको बताएका छन् ।

कांग्रेसका सह–महामन्त्री एवम् कोभिड–१९ अनुगमन समिति संयोजक डा.प्रकाशशरण महतले स्थानीय तहमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूको कार्यको प्रशंसा गरेका छन् ।

उनले जिल्लाहरूबाट आएका सुझावहरूलाई संकलन गरेर पार्टीले कोरोना संक्रमितलाई बचाउन र संक्रमित नभएकालाई बचाउन कांग्रेसले पहल गर्ने बताए । उनले आफू सुरक्षित रहेर सहयोगमा जुट्न अनुरोध गरेका छन् ।

केनद्रीय सदस्य गोपालमान श्रेष्ठले कांग्रेसले विगतमा सरकारलाई कोरोना उपचार र रोकथामका लागि ५० लाख सहयोग गरेको भन्दै त्यो रकम कहाँ खर्च भयो सरकारले जवाफ दिनुपर्ने बताए । उनले कोरोनाका बेला जनताको जीवन रक्षा गर्न सरकार असफल भएको बताए ।

कार्यक्रममा प्रतिनिधि सभाका सांसद, प्रदेश सांसद, नगरपालिकाका मेयर, उप–मेयर, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, जिल्लाका पार्टी सभापतिहरूलगायतले केन्द्र सरकारले कोरोना रोकथाममा स्थानीय तह र जनप्रतिनिधिहरूलाई भेदभाव गरेको गुनासो गरे ।

कांग्रेसले जितेका स्थानीय तहमा कोरोना रोकथाम र उपचारका लागि स्वास्थ्य सामग्री, औषधि र बजेटमा भेदभाव गरेको बताए ।
उनीहरूले हरेक घरधुरीमा कोरोनाविरुद्धको भ्याक्सिन लगेर लगाइदिनुपर्ने बताएका छन् ।

म्याग्दीमा कांग्रेसका मेयर र उप–मेयर तथा प्रमुख र उप–प्रमुखले चढेका गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गरेर जिम्मेवारी विभाजनहरू गरेको समेत जनप्रतिनिधिहरूले बताएका छन् ।

कोरोना महमारी र निषेधाज्ञाका कारण समस्यामा परेका जनतालाई खानेकुरा वितरण गरेको कांग्रेस नेताहरूले बताएका छन् ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्यहरू सुरेनद्र पाण्डे, गोविन्द भट्टराई, चिनकाजी श्रेष्ठ, कमला पन्त, प्रदीप पौडेल, जीवन परियार, किरण पौडेललगायतले पनि सम्बोधन गरेका थिए ।

Published : Monday, 2021 May 17, 1:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया