ओलीले सपथ लिएकै तेस्रो दिनमा देउवा–पौडेल एकठाउँमा, जनतामा आशा पलायो, असफल कम्युनिस्टको होस उड्यो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कोरोना महामारीका कारण भयाबह अवस्थामा पुगेको भन्दै सहयोगका लागि अन्तर्राष्ट्रिय जगतसँग अनुरोध गरेका छन् ।

उने भने, ‘विदेशी मित्रराष्ट्रहरूलाई सहयोग गर्न अपील गर्छु । दिल खोलेर सहयोग गर्न अनुरोध गर्छु ।’

कोरोना महामारीका विषयमा लुम्बिनी प्रदेशका पार्टीका नेताहरूसँग आइतबार भएको जुम अन्तरक्रियामा देउवाले सरकारले जनताको स्वास्थ्य र जीवनसँग खेलवाड गरेको आरोप लगाए ।

‘यो सरकारले आज जुन कुरा गर्नुपर्ने थियो, त्यो गरेको छैन’, उनले भने, ‘जनताले आफै गर्न चाहँदा पनि हुन सकिरहेको छैन ।’ सभापति देउवाले सरकारले जनताले कोरोना महामारीविरुद्ध काम गर्न खोज्दा असहयोग गरेको आरोप पनि लगाए ।

‘अहिले जनताले आफै काम गरेका छन् । व्यापारीले आफै काम गरेका छन्’, उनले भने, ‘यो सरकारले अति आवश्यक कुराहरू अक्सिजन दिनुपर्नेमा दिएको छैन । अक्सिजनका सिलिण्डरहरू दिन सकेको छैन ।’

सभापति देउवाले भने, ‘यो सरकारले जनताप्रति कुनै पनि उत्तरदायित्व लिएको छैन । सरकारले खाली भाषणमात्रै गर्ने काम केही पनि नगर्ने भएको छ । सबैले मैले गरेको छु भन्ने जस्तो मात्रै देखाएको छ ।’

‘सरकार भनेका अभिभावक हो । महामारीका बेला सरकारले भ्याक्सिनको व्यवस्था गरेको छैन’, उनले भने, ‘विदेशीहरू नेपाललाई सहयोग गर्न तयार छन् । अन्तर्राष्ट्रिय जगतसँग सहयोगका लागि सरकारले पहल पनि गरेको छैन ।’

खोप खरिदमा ठूलो भ्रष्टाचार र कमिशनको खेलका कारण समयमा खोप आउन नसक्दा जनताले खोप लगाउन नपाएको देउवाले बताएका छन् ।

‘सुन्नमा आएको छ । यहाँभित्र पनि भ्रष्टाचार भएको छ । कमिशनका कामहरू भइरहेका छन्’, उनले भने, ‘एकातिर मान्छेहरू मरिरहेका छन्, एकातिर कमिशन नपाएर खोप ल्याउन सकेका छैनन् । स्पष्ट भएको छ कि नेपाली जनताले दुःख पाइरहेका छन् ।’

उनले भने, ‘जनताको स्वास्थ्यमा खेलवाड गर्ने काममा सरकार आफै लागेको छ भन्ने स्पष्ट देखिएको छ । भ्याक्सिनभन्दा अर्को बाटो छैन ।’

सभापति देउवाले भने, ‘जनताको लागि चिन्ता गर्ने पार्टी कांग्रेस हो । जनताले त्यो कुरा थाहा पाइसकेका छन् ।’

‘पार्टीका साथीहरूलाई के भन्न चाहन्छु भने आफू पनि बाँचेर, स्वास्थ्यका मापदण्ड अपनाएर गरिरहनुभएको सहयोगप्रति हार्दिक धन्यावाद दिन चाहन्छु’, उनले भने, ‘आफू पनि बाँचेर अरुलाई पनि बचाउनतिर लाग्नुपर्छ ।’

‘विदेशबाट आउने नेपालीहरूलाई परीक्षण गर्नुपर्छ’, उनले भने, ‘तेस्रो चरणको भेरियन्ट आउँछ भनेका छन् । हामी सचेत हुनुपर्छ ।’

वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार गैरजिम्मेवारी भएको बताए । उनले भने, ‘कोरोना महामारीको दोस्रो चरण आउनुभन्दा दुई महिना अगाडि नै स्वास्थ्यसम्बन्धी तयारी गर्न सरकारलाई भनेका थियौँ । हामीले भनेको कुरा यो सरकारको चेतनामा घुसेन ।’

सरकार असफल भएको बताएका उनले भने, ‘राष्ट्रिय सहमति गरेर अगाडि बढ्नेबारेमा पनि यो सरकारले पहल गरेको छैन ।’

‘अन्तर्राष्ट्रिय सहयोग जुटाउन सकेको छैन । चीनले थोरै अक्सिजन सिलिण्डर दिएको भनिएको छ । भारतले दिएको खोप पनि पूरै ल्याउन सकेको छैन’, उनले भने, ‘भूकम्पका बेला अन्तर्राष्ट्रिय सहयोग उर्लेर आयो । यस्तो बेला सरकारले सहयोग ल्याउन सकेको छैन ।’

सरकारलाई बचाउनका लागि सरकारको तयारी नदेखिएको वरिष्ठ नेता पौडेलले बताएका छन् ।

सरकार कमिशनको खेलमा लागेको उनले बताए । प्रधानमन्त्रीका ओरपरका मान्छेहरूले कमिशनका लागि खोप उत्पादन कम्पनीमै रोकेको पौडेलले आरोप लगाए ।

उनले भने, ‘सरकारले भ्रष्टाचार र कमिशन खानेहरूलाई कारबाही गरेको छैन । सरकारले कमिशनका लागि बिचौलिया खुसाएको छ ।’

सह–महामन्त्री एवम् कोभिड–१९ अनुगमन समितिका संयोजक डा.प्रकाशशरण महतले महामारीका बेला भ्रष्टाचार गरेको भन्दै सरकारको आलोचना गरेका छन् । उनले रोम लेको छ, राजा बाँसुरी बजाएको छ भन्ने उखान भएको बताए ।

सत्ता स्वार्थमा कम्युनिस्ट नेताहरू लागेको बताएका उनले कोरोना महामारीका बेला मिलेर यसको सामना गर्न अपील गरे । उनले स्थानीय तहसँग समन्वय गरेर अस्पतालहरूमा उपचारमा सहयोग गर्नुपर्ने बताए । सबैले आ–आफ्नो तर्फबाट कोरोनाका बिरामीको उपचारमा दवाव दिनुपर्ने बताए ।

जनसम्पर्क समितिहरूको तर्फबाट कोरोनाविरुद्धको खोप ल्याउन पहल गर्नका लागि अनुरोध गरिएको सह–महामन्त्री डा.महतले बताएका छन् । सरकार नालायक भए पनि उसलाई दवाव सिर्जना गर्नुपर्ने उनले बताए ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले तेस्रो पटक प्रधानमन्त्री पदको सपथ लिएका छन् । ओलीले कोरोनाविरुद्ध काम गर्न सकेको छैन ।

ओली सरकार असफल भएका बेला कांग्रेसका शीर्ष नेताहरूले एउटै स्वरमा एकठाउँमा उभिएर कम्युनिस्ट सरकारविरुद्ध प्रहार गरेका छन् । जनताको जीवन रक्षा गर्नका लागि अन्तर्राष्ट्रिय समुदायलाई गुहारेका छन् ।

Published : Sunday, 2021 May 16, 11:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया