कोरोना उपचारमा लापरबाही गरेपछि कांग्रेस नेता खाणले स्वास्थ्य मन्त्रीको सातो लिए

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले अक्सिजनसहित स्वास्थ्य सामग्री अस्पतालहरूमा उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् ।

प्रमुख सचेतक खाणले आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई फोन गरेर कोरोना रोकथाम, न्यूनीकरण तथा उपचारमा विशेष ध्यान दिन सुझाव दिएका हुन् ।

उनले सम्पूर्ण नेपाली नागरिकको जीवन रक्षाको दायित्व सरकारको रहेको भन्दै कोरोना रोकथाम तथा न्यूनीकरणका लागि सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन माग गरेका छन् ।

कांग्रेस नेता खाणले दु्रतगतिमा विदेशबाट खोप आयात गर्नुपर्नेबारेमा पनि स्वास्थ्यमन्त्री त्रिपाठस्को ध्यानाकर्षण गराएका छन् ।

‘नेपाली नागरिक खोपबाट बञ्चित हुने अवस्था नओस् र त्यसका लागि सरकारले यथाशीघ्र आवश्यक खोप आयात गरी समयमा नै सबै नागरिकलाई खोप दिने व्यवस्था गरियोस्’, खाणले भने, ‘जेष्ठ नागरिकहरूलाई पहिलो खोप दिए पनि हालसम्म दोश्रो डोज दिन बाँकी रहेको र दोश्रो डोज दिने समयसीमा धेरै काम रहेकोले यथाशक्य चाडो दोश्रो खोप दिने व्यवस्था गरियोस् ।’

प्रमुख सचेतक खाणले देशभर अक्सिजनको अभावमा संक्रमितहरूले अकालमा ज्यान गुमाउनु परिरहेको बारे मन्त्रीलाई स्मरण पनि गराएका छन् ।

‘अस्पतालहरूमा अक्सिजनको अभाव हुन नदिन आवश्यक पर्ने अक्सिजन सिलिण्डर आयात गर्ने देखि अक्सिजन उत्पादक कम्पनीहरूलाई आवश्यक पर्ने सहयोग र सहजीकरण गर्नुपर्छ’, कांग्रेस नेता खाणले सरकारसँग आग्रह गरेका छन् ।

‘स्वास्थ्य सामग्री र उपकरणहरूको अभाव हुँदै गएको अवस्थाले गर्दा संक्रमित र अन्य रोगका बिरामीहरूको समेत उपचारमा कठिनाई भइरहेको छ’, खाणले भनेका छन् ।

अन्य रोगका बिरामीका विषयमा सरकार संवेदनशील र जिम्मेवार हुनु पर्ने कुरामा प्रमुख सचेतक खाणको आग्रह थियो ।

प्रमुख सचेतक खाणले सरकारले आवश्यक पर्ने स्वास्थ्य सामग्री तथा उपकरण विदेशबाट ढुवानीको प्रबन्ध गरी ढुवानीमा सहजीकरण गर्नु पर्ने बताएका छन् ।

सरकार कोरोना रोकथाम र उपचारमा असफल भएका बेला कांग्रेस नेता खाणले स्वास्थ्यमन्त्री त्रिपाठीलाई फोन गरेर उपचारमा ध्यान दिन आग्रह गरेका हुन् ।

कांग्रेस प्रमुख सचेतक खाणले सरकारलाई कोरोना रोकथाम र उपचारमा सबै सहयोग गर्न तयार रहेको भन्दै कोरोना संक्रमितको उपचार र निषेधाज्ञाबाट समस्यामा परेकाहरूलाई राहत दिन पनि आग्रह गरेका छन् ।

Published : Sunday, 2021 May 16, 8:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया