एमालेको भतेर खाने यी हुन् मधेसका मसिहाहरू, एक दिनमै ९० हजारको भात–मासु खाए

काठमाडौं । कोरोना महामारीले जनताले उपचारमा अक्सिजन नपाएर अस्पतालमा मर्नु परेका बेला जनता समाजवादी पार्टी, नेपाल (जसपा)का १४ जना सांसदले सत्तारुढ एमालेको भोज खाएर किर्ना जसरी अघाएका छन् ।

जनताले निषेधाज्ञाका बेला खान पाएका छैनन् । भोकै बस्नु परेको छ । कोरोनाका बिरामीले उपचारका लागि अक्सिजन पाएका छैनन् । बेड पाएका छैनन् । ५ हजारमा पाइने रेम्डिसिभिर औषधि कालोबजारीमा २० हजारसम्म तिर्नुपरेको छ ।

जनताले यसरी दुःख पाएका बेला सत्तारुढ एमालेले सत्ता बचाउन जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको १४ जना सांसदहरूको ग्याङलाई बिहीबार मीष्ठान्न भोजन गराएको छ ।

एमालेका नेता एवम् सांसद महेश बस्नेतले जसपाका १४ जना सांसदलाई बबरमहलस्थित पार्टी कार्यालय र विभिन्न स्थानबाट अपहरण गरेर भक्तपुरको डोलेश्वर भिलेज रिसोर्टमा भोज खुवाएको बाबुराम भट्टराई र उपेन्द्र यादवले आरोप लगाएका छन् ।

ठाकुर–महतो ग्याङका सांसद एकबाल मियाँले काठमाडौंमा खान, बस्न र बैठक गर्न समस्या भएपछि भक्तपुरको डोलेश्वर रिसोर्टमा आएको प्रतिक्रिया एउटा टेलिभिजनलाई दिएका छन् । उनले महन्थ ठाकुर, राजेन्द्र महतोसहित १४ जना सांसद डोलेश्वर रिसोर्टमा भात खान र बैठक गर्न आएको बताए ।

उनले रिसोर्टमा ठाकुर–महतो समूहका १४ जना उपस्थिति भएको बताए । २ जना सांसदलाई कोरोनाभाइरसको संक्रमण भएका कारण अनुपस्थित भएको मियाँले बताएका छन् ।

एमालेको भोज खानेहरूमा सांसद एवम् अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता एवम् सांसद राजेन्द्र महतो, सांसदहरू शरतसिंह भण्डारी, अनिलकुमार झा, निर्जला राउत, प्रमोद साह, एकबाल मियाँ, अमृता अग्रहरी, रानी मण्डल, खुलारीदेवी खत्वे, चन्दा चौधरी, विमल श्रीवास्तव र उमाशंकर अड्गरिया रहेका छन् ।

सांसदद्वय लक्ष्मणलाल कर्ण र नरमाया ढकाल कोरोना संक्रमण भएका कारण उपस्थित भएका थिएनन् ।

एमालेको भोज खानेमा तत्कालीन संघीय समाजवादी फोरमका सांसदद्वय विमल श्रीवास्तव र उमाशंकर अडगरिया रहेका छन् ।

यसैबीच, जसपाका सांसदहरूलाई एक दिन रिसोर्टमा राखेर भात खाएको, बैठक गरेको कफी र चिया खाएको ९० हजार ६१ रुपियाँ बिल महन्थ ठाकुरले तिरेको बिल सार्वजनिक भएको छ ।

ठाकुरका स्वकीय सचिव सत्यन्द्र मिश्रले बिल तिरेका हुन् । बिल सार्वजनिक गरे पनि रक्सीको पैसा देखाइएको छैन ।

जसपाको बैठकमा एमालेका नेता महेश बस्नेतको समेत उपस्थिति रहेको थियो । बस्नेतको उपस्थितिमा महन्थ ठाकुरले राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाएको उपेन्द्र यादवले आरोप समेत लगाएका छन् ।

Published : Sunday, 2021 May 16, 11:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया