प्रधानमन्त्री बनाइदिन बाबुरामद्वारा ओली समक्ष विन्तीपत्र, महतो प्रधानमन्त्री बन्ने खुलासा

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई दुई पटक भेटेर चुनावी सरकारको प्रधानमन्त्री बनाइदिन अनुरोध गरेको खुलासा भएको छ ।

एमालेका नेता एवम् प्रतिनिधि सभाका सांसद महेश बस्नेतले शनिबार एउटा अन्तर्वार्तामा भट्टराईले राति १ बजे ओलीसँग बालुवाटारमा गोप्य रुपमा भेटेर राष्ट्रिय सहमतिको चुनावी सरकारको नेतृत्व दिन आग्रह गरेको दाबी गरेका छन् ।

‘बाबुराम भट्टराईले विश्वासको मत लिनुभन्दा अगाडि दुई पटक राति १ बजे प्रधानमन्त्रीज्यूलाई भेट्नुभएको छ’, बस्नेतले भने, ‘राष्ट्रिय सहमतिको चुनावी सरकार बनाएर त्यसको नेतृत्व आफूलाई दिन बाबुराम भट्टराईले ओलीसँग अनुरोध गर्नुभएको थियो ।’

एमालेका नेता बस्नेतले भने, ‘प्रधानमन्त्री ओलीज्यूले बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व दिन नसक्ने जवाफ दिएपछि रन्थनिएर बालुवाटारबाट बाहिरिनुभएको थियो ।’

प्रधानमन्त्री ओलीले बाबुराम भट्टराईलाई ‘तपाईसँग कति सांसद छन् ?’ भनेर सोधेको बताएका बस्नेतले सांसदनै नभएको नेतालाई प्रधानमन्त्री बनाउन नसकिने जवाफ दिएको बताए ।

ओलीले बाबुराम भट्टराईको प्रस्ताव अस्वीकार गरेपछि नेपाली कांग्रेससँग मिलेर सरकार बनाउन उपेन्द्र यादवलाई उकासेको बस्नेतले बताएका छन् ।

एमालेका नेता बस्नेतले राजेन्द्र महतोलाई प्रधानमन्त्री बनाउन सकिने संकेत गरेका छन् । उनले भने, ‘प्रधानमन्त्री ओलीज्यूले राजेन्द्र महतो र महन्थ ठाकुरलाई उचित स्थान दिनु हुन्छ ।’ बस्नेतले राजेन्द्र महतो प्रधानमन्त्री बन्न सक्ने पनि स्वीकार गरे ।

महन्थ ठाकुरलाई चुनावी सरकारको प्रधानमन्त्री बनाउने भनेर ओलीले आश्वासन दिएका बेला ओलीकै विश्वासपात्र नेता बस्नेतले महन्थ ठाकुरभन्दा पनि राजेन्द्र महतो प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताएका हुन् ।

ओलीले महतोलाई भावी प्रधानमन्त्री बनाउने भएका कारण महेश बस्नेतको उपस्थितिमा संसदीय डोलेश्वर रिसोर्टको भेलाले संसदीय दलको नेता बनाएको बस्नेतको संकेत थियो ।

यसैबीच, नेता बस्नेतले राजेन्द्र महतो जसपाको संसदीय दलको नेता भएकोमा बधाई पनि दिएका छन् ।

सामाजिक सञ्जालमार्फत बस्नेतले भक्तपुरमा बसेको बैठकले ऐतिहासिक निर्णय गरेको भन्दै खुसीको व्यक्त गरेका छन् ।

‘बिगतमा एमाले, माओवदी, कांग्रेस लगायतका दलहरूले पनि कतिपय महत्त्वपूर्ण बैठकहरू विभिन्न होटल, रिसोर्टहरूमा गर्दै आएको प्रचलन नेपालको राजनीतिमा सामान्य नै हो’, बस्नेतले भनेका छन्, ‘कतिपय पालित पोषित मिडिया र परिचालीत सोसल मिडियाका लाउकेहरूले यो विषयलाई अनावश्यक उचाल्न खोजेका छन् ।’

‘अतिथि देवः भव भन्ने हाम्रो मान्यताका आधारमा भक्तपुरमा उहाँहरूलाई स्वागत गरिएको हो’, बस्नेतले भने, ‘कसैको स्याल हुइँयाले दाल गल्नेवाला छैन ।’

Published : Saturday, 2021 May 15, 8:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया