ओलीले सपथ लिएकै दिन कांग्रेसद्वारा अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपील, निकम्मा भयो एमाले सरकार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अक्सिजन र औषधिसहितका स्वास्थ्य सामग्रीहरूको अभावमा देशभरि कोरोनाबाट ठूलो संख्यामा सर्वसाधारणको मृत्यु भएको भन्दै सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग अपील गरेका छन् ।

कांग्रेस सभापति देउवाले शुक्रबार विज्ञप्ति जारी गरेर भनेका छन्, ‘यस विषम घडीमा मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ, संस्थाहरूलाई आवश्यक सहयोग गरि दिन हुन पनि अपील गर्दछु ।’

खड्गप्रसाद ओलीको कम्युनिस्ट सरकार सत्तामा मात्रै केन्द्रित भएपछि अक्सिजन नपाएर अस्पतालको मूल गेटमा मानिसहरूको धमाधम मृत्यु भएपछि कांग्रेस सभापति देउवाले नेपालमा कोरोनाको भयावह अवस्था रहेको भन्दै सहयोगको अपील गरेका छन् ।

‘देशभरिका अस्पतालहरुमा कोभिड संक्रमितका लागि अत्यावश्यक अक्सिजन, भेन्टीलेटरसहितका आईसीयू बेड र औषधिको नितान्त अभाव भई सकेको छ’, देउवाले भनेका छन् ।

‘सुदूरपश्चिम लगायतका दुर्गम स्थानहरू र देशभरिमा नै अक्सीजन अभावले ठूलो संख्यामा मानिसको मृत्यु भइरहेको छ’, उनले भने, ‘सरकार यस विषयमा अहिलेसम्म पनि गम्भीर र जिम्मेवार देखिएको छैन ।’

‘म सरकारसँग भविष्यमा आउन सक्ने जटिल परिस्थितिलाई मध्यनजर गरि सबै जिल्लामा अक्सिजन प्लान्ट र पीसीआर परीक्षण प्रयोगशाला स्थापना गर्न र तत्कालका लागि आवश्यक अक्सिजन, आईसीयू बेड, खोप लगायतका औषधिको व्यवस्था गर्न माग गर्दछु’, उनले भनेका छन् ।

कांग्रेस सभापति देउवाले कोभिड—१९ को संक्रमणले उग्ररुप लिइरहेको भन्दै जनताको अवस्थाप्रति चिन्ता जनाएका छन् ।

‘देशमा व्याप्त यस विषम घडीमा सबै दिदीबहिनी, दाजुभाइमा स्वास्थका मापदण्ड अपनाउन, आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न हार्दिक अनुरोध गर्दछु’, देउवाले अपील गरेका छन् ।

‘देशभरिका नेपाली कांग्रेसका सदस्य तथा शुभेच्छुक साथीहरूलाई स्वास्थ सुरक्षाका मापदण्ड अपनाउँदै संकटमा परेकालाई सक्दो सहयोग गर्न अपील गर्दछु’, उनले भनेका छन् ।

कम्युनिस्ट प्रधानमन्त्रीका रुपमा ओलीले शुक्रबार तेस्रो पटक सपथ लिएका छन् ।

देशभरि कोरोनाभाइरस समुदायस्तरमा बढेर अस्पतालहरूले उपचार गर्न नसक्ने अवस्थामा पुगेका छन् । ओलीले कोरोना रोकथाम र उपचारमा ध्यान नदिएको भनेर आलोचना भइरहेको छ ।

एमालेको सरकार जनताको उपचारमा असंवेदनशील भएपछि प्रमुख विपक्षी दलको हैसियतले कांग्रेसले अन्तर्राष्ट्रिय समुदायसँग कोरोनासँग जुध्नका लागि स्वास्थ्य सामग्री सहयोगको अनुरोध गरेको छ ।

कोरोनाभाइरसको संक्रमणबाट दैनिक दुई सयभन्दा धेरैको मृत्यु भइरहेको छ । विपक्षी दल कांग्रेसको अनुरोधलाई ओली सरकारले सुनुवाइ नगरेपछि सभापति देउवाले मुलुकको अवस्था संकटतिर जान लागेको भन्दै अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपील गरेका छन् ।

तर, एमालेको सरकार र प्रधानमन्त्री ओली सांसदहरूलाई रिसोर्टमा लगेर राख्ने, भीड जम्मा गरेर उद्घाटन गर्ने लगायतका कार्यहरू गर्दै आएका छन् ।

Published : Friday, 2021 May 14, 10:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया