एक बोरा पैसाहित रिसोर्टमा १६ सांसदसँग मोज गर्दै ठाकुर–महतो, सत्ता बचाउन ओलीले लगेको आरोप

काठमाडौं । कोरोनाभाइरसको संक्रमणबाट बिरामी भएका जनताहरूले अक्सिजन नपाएर मर्नु परेका बेला जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफ्ना पार्टीका सांसदहरूलाई रिसोर्टमा लगेर राखेका छन् ।

भक्तपुरको डोलेश्वरमा रहेको रिसोर्टमा ठाकुर–महतोले आफ्ना सांसदहरूलाई राखेका हुन् ।

अध्यक्ष ठाकुरले बबरमहलस्थित पार्टी कार्यालयमा आफू निकटका सांसदहरूलाई बोलाएका थिए । छोटो छलफलपछि ठाकुरले आफ्ना सांसदहरू थप छलफल गर्नुपर्ने भन्दै भक्तपुर लागेका हुन् ।

ठाकुरले भक्तपुरको रिसोर्टमा १६ सांसदलाई लगेर गएको एक सांसदले बताएका छन् ।

सांसदद्वय लक्ष्मणलाल कर्ण र नरमाया ढकाल भने रिसोर्टमा गएका छैनन् । कर्ण र ढकाललाई कोरोना संक्रमित भएको छ । उनीहरू होम आइसोलेसनमा बसेका छन् ।

संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतको सरकार बन्न नसक्ने ठाकुर समूहको दाबी छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धन सरकार निर्माणका संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनको दाबी गर्न बिहीबार साँझ ९ बजेसम्म समय दिएकी छिन् ।

जसपाकै अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूह भने कांग्रेस नेतृत्वमा नयाँ सरकार बनाएर जानुपर्ने भन्दै गठबन्धन सरकार निर्माणमा जुटेको छ ।

यता, जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दलका केही सांसदहरूलाई प्रधानमन्त्री खड्गप्रसाद ओलीले भक्तपुरस्थित एक रिसोर्टमा लगेर थुनेको आरोप लगाएका छन् ।

पार्टीका अध्यक्ष महन्थ ठाकुरले सांसदहरूले लगे नलगेको बारे थाहा नभएको यादवले बताए । ‘केपी ओलीले लगेको होला’, यादवले भने, ‘पार्टीमा कुनै छलफल गर्नु पर्थ्यो, केपी ओलीले लगेको जस्तो छ ।’

रिसोर्टमा खानेबस्ने र सांसदहरूलाई भत्ता दिनका लागि एक बोरा पैसापनि सँगै लगेर गएको भनेर सामाजिक सञ्जालमा ब्याङ्ग्य गरेर टिकाटिप्पणी भएका छन् ।

ठाकुरले बिहीबार दिउँसो कांग्रेस सभापति शेरबहादुर देउवासँग बुढानिकलण्ठमा वार्ता गरेपछि आफू पक्षीय सांसदलाई भक्तपुरको डोलेश्वरस्थित एक रिसोर्टमा पुर्‍याएका हुन् ।

रिसोर्टमा लैजाने, राख्ने र खाने पिउने सबै बन्दोबस्ती एमालेका नेता महेश बस्नेतले गरेका सार्वजनिक भएको छ ।

सांसद अपहरणको आरोप लागेका एमालेका नेता बस्नेतले जसपाका तीन जना सांसद उपेन्द्र यादवले अपहरण गरेको आरोप बुधबार लगाएका थिए । बिहीबार नेता बस्नेतले जसपाका १६ जना सांसदलाई रिसोर्टमा लगेर राखेको आरोप छ ।

Published : Thursday, 2021 May 13, 7:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया