उपेन्द्रले सातो लिएपछि कालोनिलो भए अनुदारवादी नेता ठाकुर–महतो

काठमाडौं । कामचलाउ सरकारका कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पार्टीमा र्‍याखर्‍याख परेका छन् ।

ललितपुरको बालकुमारीमा बुधबार बसेको जसपाका शीर्ष नेताहरूको बैठकमा ठाकुर र महतोको पछिल्लो चर्तिकलाको विरोध भएको हो ।

अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईले पार्टीमा सल्लाहनै नगरेर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई किन भनेको भनेर प्रश्न गरेका छन् । ठाकुर र महतोले भेटबारे कुनै स्पष्ट जवाफ नदिएको एक नेताले बताएका छन् ।

बैठकमा वैकल्पिक सरकार गठनका विभिन्न विकल्पबारे छलफल भएको संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले जानकारी दिएका छन् ।

संविधानको धारा ७६ को उपधारा (२) अनुसारको वैकल्पिक सरकार निर्माणका लागि दाबी पेश गर्ने भोलि अन्तिम समय हो ।

प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि संविधानको धारा ७६ को उपधारा (२) बमोजिम सरकार गठनका राष्ट्रपति भण्डारीले राजनीतिक दलहरूलाई दिएको तीन दिनको समयसीमा बिहीबार सकिंदैछ ।

ठाकुर–महतो प्रधानमन्त्री ओलीसँग मिलेर जाने पक्षमा छन् । उपेन्द्र यादव र बाबुराम भट्टराईले ओलीलाई समर्थन गर्ने पक्षमा छैनन् ।

ठाकुर र महतोले भण्डारीलाई भेटेर ओलीलाई समर्थन गर्ने आश्वासन दिएर आएको चर्चा भएपछि जसपाभित्र उनीहरूको आलोचना भएको छ ।

Published : Wednesday, 2021 May 12, 11:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया