ओली जिल पर्ने गरेर कांग्रेस ल्यायो सरकार बनाउने फरक प्रस्ताव, ठाकुर पनि चकित

काठमाडौं । एमालेको सरकार विश्वासको मत नपाएर ढलेको २४ घण्टाभित्रै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि दाबी गर्ने निर्णय गरेको छ ।

कांग्रेसले तीन दलबाट बहुमत नपुगे अर्को बिकल्प अनाएर पनि बहुमत पुर्‍याउने रणनीति बनाएको छ । काठमाडौंको बुढानिलकण्ठमा मंगलबार सभापति शेरबहादुर देउवाको निवास बसेको पदाधिकारी बैठकले सरकार बनाउन दाबी गर्ने निर्णय गरेको सह–महामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए । उनले सरकारमा कांग्रेसको दाबी रहने बताए ।

माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को सहयोगमा सरकारको नेतृत्वमा दाबी गर्ने निर्णय गरेको डा.महतले बताए ।

कांग्रेसले बहुमत पुर्‍याउने विभिन्न बिकल्पको पनि खोजी गर्नेछ । ओली सरकार सबैतिरबाट असफल भएपछि सबैले साथ छाडेका छन् । ओली सोमबार संसदबाट नराम्रोसँग पच्छारिएका छन् ।

‘राष्ट्रपतिले ७६ (२) अनुसार सरकार बनाउनका लागि समय दिनुभएको छ’, सह–महामन्त्री डा.महतले भने, ‘तोकिएको समयभित्र कांग्रेसले दाबी प्रस्तुत गर्छ ।’

उनले प्रधानमन्त्री ओली विश्वासको मत लिन असफल भएपछि माओवादी केन्द्र र जसपाको सहयोगमा कांग्रेसले दाबी गर्ने बताए । जसपा कांग्रेसको पक्षमा आउने उनले बताएका छन् ।

तीन दल एक ठाउँमा आउन नसके बहुमतको दाबी गर्ने अरु विकल्प पनि रहेको डा.महतले बताएका छन् । बहुमत पुर्‍याउन एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहसँग पनि छलफल गरेर अघि बढ्ने उनले बताएका छन् ।

जसपाभित्रको विवादका कारण कांग्रेसको नेतृत्वमो सरकार बनाउन समस्या पर्ने सम्भावना छ । महन्थ ठाकुरले ओलीलाई साथ दिएका छन् । उपेन्द्र यादव कांग्रेसको नेतृत्वमा सरकार बनाउने पक्षमा छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ३० वैशाखभित्र बहुमतको सरकार गठनका लागि दाबी गर्न दलहरूलाई आह्वान गरेकी छिन् ।

कांग्रेस, माओवादी र जसपाको उपेन्द्र यादव समूह तथा वरिष्ठ नेता माधव नेपाल समूहबाट तोकिएको समयभित्र सरकार बनाउने नसक्ने ओलीको बुझाइ छ । ओलीले तीन दलले सरकार बनाउन नसके महन्थ ठाकुरलाई साथमा लिएर सरकार बनाउने पक्षमा देखिएका छन् ।

कांग्रेसले संसदबाट विश्वासको मत पाउन नसकेका ओलीलाई सहज रुपमा सत्ताको चाबी दिने पक्षमा छैन ।

Published : Tuesday, 2021 May 11, 8:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया