देउवाद्वारा दाहाल–यादवसँग वार्ता, संख्याबारे कानूनी परामर्श

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग परामर्श गरेका छन् ।

बुढानिलकण्ठस्थित दउवा निवासमा तीन शीर्ष नेताबीच नयाँ सरकार कसरी बनाउने भन्ने विषयमा कुराकानी भएको स्रोतले जनाएको छ । तीन नेताबीच केपी ओलीविरुद्ध कसरी बहुमत पु¥याउनेबारेमा छलफल भएको थियो । नयाँ सरकार बनाउनेबारेमा कानूनी र संवैधानिक विषयमा पनि कुराकानी भएको छ ।

कांग्रेससहितका तीन दललाई तीन दिनभित्र सरकार बनाउनका लागि बहुमतसहित दाबी गर्नुपर्ने बाध्यता छ । तीन दललाई महन्थ ठाकुर समूहले साथ दिनुपर्छ । होइन भने सरकार बनाउन बहुमत पुग्दैन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनको आह्वान गरेकी छिन् ।

छलफलमा कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य रमेश लेखक सहभागी थिए ।

सोमबार विश्वासको मत पाउन नसकेपछि प्रधानमन्त्री केपी ओलीको सरकार ढलेको थियो । विश्वासको मत नपाएपछि ओली कामचलाउ भएका छन् ।

ओलीको पक्षमा ९३ मत आएको थियो । ओलीको विपक्षमा १२४ मत परेको थियो । तटस्थ १५ मत परेको थियो ।

सरकार बचाउन बहुमतका लागि १३६ मत चाहिन्छ । एमालेका वरिष्ठ नेता माधव नेपाल समूहका २८ सांसदले ओलीलाई मत दिएनन् ।

जसपाभित्र नयाँ सरकारबारे विवाद छ । उपेन्द्र यादव कांग्रेससँग निकट छन् । ओलीसँग मिलेर सरकार बनाउने पक्षमा महन्थ ठाकुर छन् ।

अध्यक्ष ठाकुर पक्षले पार्टी वैकल्पिक सरकार निर्माणमा नलाग्ने भन्दै सोमबार राति विज्ञप्ति जारी गरेका छन् ।

Published : Tuesday, 2021 May 11, 2:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया