तराई टुक्र्याउने अभिव्यक्ति दिएर विवादमा परेका ठाकुरलाई ओलीले प्रधानमन्त्री बनाउने

काठमाडौं । जनता समाजवादी पार्टी (जपास)का अध्यक्ष महन्थ ठाकुरले नेपाली कांग्रेसको नेतृत्वमा बन्ने भनिएको सरकारविरुद्ध आफ्नो गतिविधिलाई सक्रिय बनाएका छन् ।

ठाकुरले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग मिलेर सरकार बनाउन चाहेका छन् । ठाकुरले सोमबार राति विज्ञप्ति जारी गरेर गठबन्धनको सरकार बनाउने विषयमा आफू नलागेको बताएका थिए । ठाकुरले कांग्रेसको सरकारमा नजाने बताएका थिए ।

ठाकुरले आफू जसपाको अध्यक्ष रहेको भन्दै अर्का अध्यक्ष उपेन्द्र यादवद्वारा गरिने कुनै पनि निर्णयहरूलाई आधिकारिकता नमान्न अनुरोध गरेर मेलमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र पठाएको चर्चा छ ।

उपेन्द्र यादवलाई कुनै महत्व नदिएका ठाकुरले ओलीलाई विश्वास गरेका छन् । सोमबार विश्वासको मत लिने क्रममा संसदमा सम्बोधन गर्ने क्रममा ठाकुरले ओलीको प्रशंसा गरेका थिए । उपेन्द्रले ओलीको आलोचना गरेका थिए ।

ओली र ठाकुर मिलेर सरकार बनाए पनि बहुमत भने पुग्ने छैन । यस्तो अवस्थामा ओली केही समय प्रधानमन्त्री बन्ने छन् । त्यसपछि निर्वाचनका बेला ओलीले ठाकुरलाई प्रधानमन्त्री बनाउनेछन् ।

विगतमा तराई टुक्र्याउने भनेर अभिव्यक्ति दिएका कारण विवादमा आएका ठाकुर अनुदारवादी नेताका रुपमा परिचित छन् । ठाकुरले तराई टुक्रिन सक्छ भनेपछि विरोध भएको थियो ।

ओलीले ठाकुरलाई चुनावी सरकारको प्रधानमन्त्री बनाउने आश्वासन दिएर साथमा लिएको चर्चा छ ।

ठाकुरले भारतबाट विवाह गरेर आउने महिलालाई तत्काल नागरिकता दिनुपर्ने माग गर्दै आएका छन् । नागरिकताको नयाँ प्रावधानमा भारतबाट विवाह गरेर आउने महिलालाई सात वर्ष पर्खेपछि नागरिकता दिने प्रावधान प्रस्ताव गरिएको छ ।

ठाकुरले त्यो प्रावधानको विरोध गर्दै भारतीय महिलालाई तत्काल नागरिकता दिनुपर्ने अडानमा छन् । ठाकुरकै कारण नागरिकता विधेयक संसदीय समितिमा अल्झिएर बसेको छ ।

ठाकुरले जातीय राजनीति गरेको आरोप छ । उनले मधेसको राजनीति गर्न मधेस केन्द्रित दलनै खोलेका छन् । ठाकुर बोल्ने क्रममा कडा प्रश्न गर्दा रिसाएर अभिव्यक्ति दिने गरेका कारण पनि आलोचित हुने गरेका छन् ।

ठाकुर र ओलीको केमेस्ट्रीका विषयमा पत्रकार नारायण अमृतले ट्वीट गर्दै लेखेका छन्, ‘त्यत्रो वर्ष कांग्रेसमा योगदान, लगानी र संघर्ष । मधेसका एक उच्च नेता, दलमा कोषाध्यक्ष । सदा दाहिना रहेका गिरिजाप्रसाद कोइरालाले नबुझेको महन्थको भाषा र मन अब केपी ओलीले बुझ्देलान् भन्नू ‘भारतले नेपाललाई सम्मान गर्छ’ भन्ने जत्तिकै सफेद झुठ हो ।’

Published : Tuesday, 2021 May 11, 1:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया