गगनले दिए सरकार बनाउने बिकल्प, अबको छ महिनाभित्र निर्वाचन

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले जनता समाजवादी पार्टी (जसपा) र एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह नयाँ सरकार बनाउने विषयमा निर्णायक रहेको बताएका छन् ।

थापाले संविधानको धारा ७६ को उपधारा (५) अनुसार चुनावी सरकार बनाएर छ महिनाभित्र निर्वाचन गर्न प्रस्ताव गरेका हुन् । उनले धारा ७६ को उपधारा (५)अनुसार बन्ने प्रधानमन्त्रीको सिफारिसमा संसद विघटन गरेर निर्वाचनमा जान प्रस्ताव गरेका हुन् ।

एउटा टेलिभिजन कार्यक्रमसँगको अन्तर्वार्तामा थापाले कांग्रेसको नेतृत्वमो सरकार बन्नका लागि जसपाको एक ढिक्का भएर सहयोग आवश्यक रहने बताए । उनले भने, ‘आधा जसपा होइन । पूरा जसपाको समर्थन हुनुपर्छ । त्यसपछि सरकार बन्न सक्छ ।’

जसपा दुई टुक्राको अवस्थामा छ । महन्थ ठाकुरले एमालेलाई साथ दिएको छ । उपेन्द्र यादव समूहले कांग्रेसहितका दलहरूको गठबन्धनलाई साथ दिएको छ ।

नेता थापाल एमालेको नेतृत्वमा सरकार बन्नका लागि पनि सिंगो जसपाको समर्थन आवश्यक पर्ने बताए । कांग्रेससहितका तीन दलले सरकार बनाउन नसके एमालेले पनि सरकार बनाउन नसक्ने बताए ।

‘जसपाको एउटा समूहले साथ दियो भने एमालेका अध्यक्ष केपी ओलीजीले संविधानको धारा ७६ को उपधारा (३) बमोजिम सरकार बनाउन सक्नु हुन्छ’, उनले भने, ‘एक महिनाभित्र विश्वासको मत लिनुपर्छ । विश्वासको मत लिन सक्नुभएन भने मुलुक निर्वाचनतिर जान्छ ।’
कांग्रेस नेता थापाले संविधानको धारा ७५ को उपधारा (५)को आधारमा सरकार बनाउन प्रस्ताव गरेका छन् ।

सो धारामा ‘उपधारा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नेछ’ भन्ने उल्लेख छ ।

उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्नु पर्नेछ ।

उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको
सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी छ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ ।

यस संविधान बमोजिम भएको प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा प्रधानमन्त्रीको पद रिक्त भएको मितिले पैंतीस दिनभित्र यस धारा बमोजिम प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया सम्पन्न गर्नु पर्नेछ ।

राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदका सदस्यमध्येबाट समावेशी सिद्धान्त बमोजिम प्रधानमन्त्रीसहित बढीमा पच्चीस जना मन्त्री रहेको मन्त्रिपरिषद गठन गर्नेछ ।

Published : Tuesday, 2021 May 11, 1:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया