कांग्रेससहित तीन दलको माग अनुसार भण्डारीको आह्वान, अब ओलीको हालत के होला ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरूलाई संविधानको धारा ७६ को उपधारा (२) बमोजिम आहृवान गरेकी छिन् ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीले सोमबार संसदबाट विश्वासको मत लिन नसकेपछि पदमुक्त भएका थिए ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई तीन दिनभित्र दाबी पेश गर्न आहृवान गरेकी हुन् ।

ओलीले विश्वासको मत नपाएपछि सोमबार राति भण्डारीलाई शीतल निवासमा भेट गरेका थिए । ओलीसँगको भेटपछि भण्डारीले कानूनका विज्ञहरूसँग परामर्श गरेकी थिइन् ।

‘राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई वैशाख ३० गतेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेश गर्न आह्वान गर्नुभएको छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री ओली निकटका नेता र सल्लाहकारहरूले संविधानको धारा ७६ को उपधारा (३) बमोजिम राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्ति गर्न आह्वान गर्ने भनेका थिए ।

कांग्रेस, माओवादी केन्द्र र जसपाले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि आह्वान गर्न माग गरेर विज्ञप्ति जारी गरेका थिए ।

ओली अल्पमतमा छन् । ओलीसँग ९३ सांसद छन् । जसपाको महन्थ ठाकुर समूहले समर्थन गर्दा पनि ओलीलाई नयाँ सरकार बनाउन बहुमत पुग्दैन ।

कांग्रेससहितका दलहरू पनि सरकार बनाउने पक्षमा छन् । उनीहरूको पक्षमा बहुमत पुग्न सक्ने सम्भावना छ ।

Published : Monday, 2021 May 10, 9:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया