ढल्यो ओलीको अनुदारवादी कम्युनिस्ट शासन, मलिन अनुहार बनाएर बाहिरिए, चारैतिर खुसीयाली

काठमाडौं । प्रतिनिधि सभाले प्रधानमन्त्री खड्गप्रसाद ओलीको सरकार ढालिदिएको छ ।

प्रतिनिधि सभाको सोमबार बसेको विशेष बैठकमा ओलीले विश्वासको मत लिन नसकेपछि एमालेको सरकार झण्डै सवा तीन वर्षमा ढलेको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले ओलीको सरकारलाई विश्वास छ भन्ने पक्षमा ९३ मत परेको जानकारी दिए ।

ओली सरकारको विपक्षमा १२४ मत परेको छ । तटस्थ मत १५ परेको थियो । प्रतिनिधि सभाको सोमबारको बैठकमा २३२ जना सांसदको उपस्थिति रहेको थियो ।

विश्वासको मत पाउन नसकेर सरकार ढलेपछि ओली मलिन अनुहार लिएर संसद भवनबाट बाहिरिएका छन् ।

प्रस्तावमाथि भएको मतदानमा प्रस्ताव पारित हुन आवश्यक १३६ मत नपुगेसँगै प्रधानमन्त्री ओली विश्वासको मत प्राप्त गर्न असफल भएका छन् ।

प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्र तथा राजमोले प्रस्तावको विपक्षमा मत दिने स्पष्ट पारेका थिए ।

जनता समाजवादीको एक पक्षले प्रस्तावको विपक्षमा र अर्को पक्षले तटस्थ बस्ने निर्णय गरेका थिए ।

प्रस्तावको विपक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले मत दिएका थिए ।

जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले यसमा मतदान गरेका थिए ।

एमालेको माधवकुमार नेपाल पक्ष बैठकमा अनुपस्थित थिए । प्रस्ताव असफल भएसँगै प्रधानमन्त्री पदमुक्त भएका छन् ।

ओलीले सम्भवतः आजै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा दिनेछन् । ओलीको अनुदारवादी कम्युनिस्ट ढलेपछि चारैतिर खुसीयाली छाएको छ ।

संसदको अर्को बैठक वैशाख ३० गते विहीबार १ बजे बस्ने गरेर स्थगित भएको छ ।

Published : Monday, 2021 May 10, 6:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया