गण्डकीमा पनि एमालेले लुम्बिनी काण्ड मच्चायो, कम्यनिस्टले औकात देखाए

काठमाडौं । गण्डकीमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले संसदको बैठक स्थगित गरेका छन् ।

कामचलाउ मुख्यमन्त्री गुरुङको सिफारिसमा प्रदेश प्रमुख सीता पौडेलले गण्डकी प्रदेश सभाको बैठक स्थगित गरेकी हुन् ।

गुरुङले मुख्यमन्त्री पदबाट आइतबार राजीनामा दिएका थिए । गुरुङले राजीनामा दिएकाले विशेष अधिवेशन आवश्यक नपर्ने भएकाले स्थगित गरिएको जनाइएको छ ।

गण्डकी प्रदेशमा एमालेको सरकार पुनः बनाउनका लागि गुरुङले चोरबाटोबाट सरकार बनाउन राजीनामा दिएर संसद बैठक स्थगित गरेको आरोप छ ।

विश्वासको मत नलिएर गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिएपछि गुरुङ नेतृत्वको एमालेको सरकार ढल्ने पक्का थियो ।

सरकार बचाउन र अविश्वासको प्रस्ताव छल्न गुरुङले राजीनामा दिएका हुन् ।

लुम्बिनी प्रदेशमा पनि शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएर अविश्वासको प्रस्ताव छलेका थिए । त्यसपछि उनलाई चोरबाटोबाट मुख्यमन्त्रीमा नियुक्त गरेर सपथ गराइएको थियो ।

गण्डकीमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा एकजुट भएर अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने भएपछि सरकार ढल्ने निश्चित जस्तै भएको थियो ।

गण्डकी प्रदेशमा मुख्यमन्त्री गुरुङ्गले अविश्वासको प्रस्ताव असफल बनाउन जनमोर्चा नेपालको कम्तिमा एक र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई आफ्नो पक्षमा ल्याउनुपर्ने हुन्थ्यो । मनाङेले एमालेको सरकारलाई समर्थन गरेर मन्त्री समेत बनेका छन् ।

प्रदेशमा एमालेको २७, नेपाली कांग्रेसको १५, माओवादी केन्द्रको १२, जनमोर्चाको ३, जनता समाजवादी पार्टीको २ र स्वतन्त्र सांसद एक गरी ६० सांसद छन् । अविश्वासको प्रस्ताव पारित गर्न ४१ मत आवश्यक छ ।

Published : Monday, 2021 May 10, 2:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया