नेपाल समूहको शानदार निर्णय, ओलीले चक्मा खाए

काठमाडौं । एमालेका वरिष्ठ नेता माधव नेपाल समूहका सांसदहरू प्रतिनिधि सभाको विशेष बैठकमा सहभागी हुने भएका छन् ।

सोमबार बसेको नेपाल समूहको बैठकले ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

नेपाल समूहको निर्णयले प्रधानमन्त्री ओलीको बहिर्गमन हुनेछ । ओलीको बहिर्गमनलगत्तै बहुमतको सरकार बन्ने सम्भावना तत्काललाई टरेको छ ।

नेपाल समूहका सांसदहरूको भेलाले तत्काल राजीनामा नदिने निर्णय गरेको छ । उनीहरूले ओलीलाई विश्वासको मत पनि नदिने निर्णय गरेका छन् ।

नेपाल समूहका सांसदहरू विश्वासको मत दिने क्रममा मतदानमा अनुपस्थित हुनेछन् ।

नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)को निर्णयले ओलीले विश्वासको मत पाउने बाटो बन्द भएको छ । जसपाले भोट हाल्न दिन सांसदहरूलाई खुला छाडिदिएको छ ।

संसदबाट विश्वासको मत नपाएपछि ओली पदमुक्त हुनेछन् । नेपाल समूहको निर्णयले प्रधानमन्त्री ओलीको बहिर्गमनपछि बहुमतको सरकार बन्ने सम्भावना पनि तत्काललाई सकिएको छ ।

प्रधानमन्त्री ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउन आह्वान गर्ने सम्भावना छ ।

बहुमतको सरकार बनाउन दलहरूलाई १३६ जना सांसद आवश्यक पर्नेछ । संसदमा अहिले २७१ सांसद संख्या कायम छ ।

संसदको चौथो ठूलो दल जसपाभित्र कांग्रेस र माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार बनाउने विषयमा मतभेद छ ।

संसदमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ (सभामुखबाहेक) र जसपाका ३२ (पूर्वसमाजवादीका १६ र पूर्वराजपाका १६) सांसद छन् ।

एमालेको ह्वीप उल्लंघन गरेर आफूलाई विश्वासको मत नदिएबापत् प्रधानमन्त्री ओलीले सिद्धान्ततः नेपाल समूहका सांसदलाई कारबाही गर्न सक्छ ।

ओलीले नेपाल समूहका सांसदलाई कारबाही अगाडि बढाए उनीहरूको सांसद पद खारेज हुन्छ ।

प्रधानमन्त्री ओलीले नेपाल समूहका सांसदहरूलाई तत्काल कारबाही गर्ने सम्भावना छैन ।

ओलीले कारबाही गरे भने वैकल्पिक सरकार बन्ने अवस्था सिर्जना हुन्छ । नेपाल समूहले पनि तत्काल राजीनामा दिनेछैन ।

Published : Monday, 2021 May 10, 12:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया