ओली–नेपाल समूहबीच गोप्य वार्ता, बालुवाटारका दूत पौडेल सक्रिय

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले विश्वासको मत लिने दिन नजिएका बेला एमालेका नेताहरूबीच गोप्य वार्ता र सम्वादहरू भएका छन् ।

बिहीबार काठमाडौंको नागपोखरीस्थित पाँचतारे होटेल मेरियटमा एमालेका नेता एवम् अर्थमन्त्री विष्णु पौडेल, नेताद्वय सुरेन्द्र पाण्डे र गोकर्ण विष्टबीच गोप्य वार्ता भएको छ ।

वार्तापछि सुरेन्द्र पाण्डेले तीन नेताहरूका बीच सम्वाद भएको स्वीकार गरे । उनले भेटमा के कुरा भएको थियो केही बताउन चाहेनन् ।

भेटवार्ताका लागि अर्थमन्त्री पौडेलले पहल गरेका थिए । पौडेलले विभाजित भएको एमालेलाई मिलाउने प्रयास गरेका छन् ।

एमालेका वरिष्ठ नेता माधव नेपालसहिता नेताहरूलाई पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले कारबाही गरेपछि ओली र नेपाल समूहबीच द्वन्द्व छ ।

ओलीले नेपाल समूहलाई ठेगान लगाउन केन्द्रीय कमिटी भङ्ग गरेर महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए । त्यतिले पनि नपुगेर ओलीले कारबाही गर्नेदेखि नेपाल समूहलाई स्पष्टीकरण सोध्न कार्यहरू गरेका थिए ।

नेपाल समूहले २०७५ जेठ २ नै भएकाले त्यहाँ फर्कनुपर्ने अडान राख्दै आएको छ । ओली समूह पछाडि फर्कन चाहेको छैन ।

यद्यपि ओलीले वैशाख २७ गते विश्वासको मत लिनका लागि नेपाल समूहलाई मिलाएर जाने पक्षमा लचक भएको चर्चा एमालेभित्र चलेका बेला तीन नेताबीच वार्ता भएको छ ।

Published : Thursday, 2021 May 6, 8:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया