खाणद्वारा भ्याक्सिन रोक्नेहरूलाई कारबाहीको माग, ओली निकटका बिचौलियाहरूलाई तनाब

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक एवम् पूर्वमन्त्री बालकृष्ण खाणले कोरोना महामारीका बेला कमिशनका कारण कोरोना–१९ विरुद्धको भ्याक्सिन समयमा आउन नसकेको घटना गम्भीर भएको बताएका छन् ।

कांग्रेस नेता खाणले निजी सचिवालयमार्फत कमिशनका कारण कोरोनाविरुद्धको भ्याक्सिन रोकिएको घटना अपराधपूर्ण रहेको बताए ।

‘कोभिड–१९ को भ्याक्सिन खरिद गर्ने क्रममा स्वयम् मन्त्री आफैले कमिशनका कारणले भ्याक्सिन ल्याउन सकिएन भन्नु त्योभन्दा दुर्भाग्य के हुन सक्छ ?’, उनले भने, ‘पहिलो चरणमा भ्याक्सिन लगाएकाहरूलाई दोस्रो चरणमा भ्याक्सिन लगाउनका लागि पनि उपलब्ध हुन सकेन ।’

‘भ्याक्सिन लगाउन नपाएकाहरूका लागि पहिलो चरणको डोजको भ्याक्सिन लगाउन पनि पाएन’, खाणले भने, ‘छिटोभन्दा छिटो भ्याक्सिन ल्याएर सबै जनतालाई लगाइदिनुपर्छ ।’

‘सरकार आर्थिक अनियमितता, कमिशन र भ्रष्टाचारमा लिप्त रह्यो । जसले गर्दा आम नागरिकको जीवनको रक्षा गर्न सकिएको छैन’, खाणले भनेका छन् ।

‘सरकार गम्भीर र सम्वेदनशील छैन । घोर आपत्तिजनक हो । नेपाली कांग्रेस अविलम्ब कोरोनाविरुद्धको भ्याक्सिन महामारीको बेलामा ल्याएर जनतालाई लगाइदिनुपर्छ’, उनले भने, ‘स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार र अनियमितताको छानविन गर्नपर्छ । भ्याक्सिन खरिदको क्रममा भएका अनियमितताहरूको छानविन गर्नुपर्छ ।’

उनले भने, ‘संक्रमणको व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्छ । सबै नेपाली नागरिकलाई भ्याक्सिन लगाउनका लागि तत्काल भ्याक्सिन आयात गर्नुपर्छ ।’

कांग्रेस प्रमुख सचेतक खाणले आम नागरिकको जीवन रक्षा गर्ने दायित्व सरकारको रहेको भन्दै कुनै पनि नगरिक अकालमा मृत्युवरण गर्न नपरोस् भनेका छन् ।

‘जनताको जीवन रक्षा गर्न राज्य सधैँ सजग र प्रतिवद्ध रहनुपर्छ । तर, ओली सरकार कोभिड– १९ को महामारीको पहिलो चरणमा पनि सम्वेदनशील र गम्भीर देखिएन’, उनले भनेका छन्, ‘स्वास्थ्य सामग्रीहरू खरिदमा व्यापक अनियमितता गरेको अवस्था रह्यो ।’

‘दोस्रो चरणमा यो महामारीले झन् व्यापकै नोक्सान गर्छ भन्ने विज्ञहरूको भनाइ रहँदै आइरहेको थियो’, खाणले भने, ‘सरकार चाहिँ बेलैमा सजत, सर्तक र व्यवस्थित हुन सकेन । त्यसले गर्दा दोस्रो चरणको महामारीका कारणले जनजीवन अस्तव्यस्त भएको छ ।’

‘संक्रमितहरूको संख्या पनि बढेको छ । मृतकको संख्या पनि बढेको छ’, कांग्रेस नेता खाणले भने, ‘यस्तो सम्वेदनशील अवस्थामा सरकार अझै पनि गम्भीर भएको छैन ।’

ओली सरकारले कोरोनाभाइरसको रोकथाम र उपचारमा उचित व्यवस्थापन गर्न नसकेको भनेर आरोप लागेका बेला कांग्रेस नेता खाणले सबै कुरा छाडेर भए पनि जनताको जीवन रक्षा गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री ओली निकटका बिचौलियाहरूले ५० लाख डोज खोप ल्याउन तीन अर्ब ५६ करोडको खरिद सम्झौताबाट ३२ करोड ४३ लाख रुपियाँ कमिसन लिने हर्कत गरेका थिए ।

खोपमा १० प्रतिशत कमिसन माग्दै हुकम डिस्ट्रिब्युसन एन्ड लजिस्टिक प्रालि पनि सक्रिय भइरहेको थियो ।

विजय दुगड र उनका छोरा अभिषेक दुगड तथा सुरज वैद्य र उनकी श्रीमती रीतुसिंह वैद्य सेयरहोल्डर रहेको कम्पनी कमिशनका लागि निकै चनाखो भएर सक्रिय भएको थियो ।

प्रभावशाली उद्यमी वैद्यलाई प्रधानमन्त्रीले भिजिट नेपाल २०२० को संयोजक समेत बनाएका थिए । उनीहरूकै कारण समयमा खोप आउन नसकेपछि जनताले अनाहकमा जनताले जीवन गुमाउनु परेको छ भने उपचार नपाएर दुःख पाइरहेका छन् ।

Published : Thursday, 2021 May 6, 7:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया