भण्डारीले ओलीलाई फेरि प्रधानमन्त्रीमा नियुक्त गर्ने, यस्तो बनेको रहेछ नेताहरू जिल पर्ने डिजाइन्

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले संसदीय दलका नेता खड्गप्रसाद ओलीले वैशाख २७ गते ठूलो दलको हैसियतमा प्रधानमन्त्रीमा नियुक्त गर्ने खुलासा भएको छ ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने प्रयास गर्नेछन् । ओलीले विश्वासको मत पाउन सकेनन् भने सोही दिन भण्डारीले ओलीलाई संविधानको धारा ७६ (३) बमोजिम प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेको रहस्य बाहिरिएको छ ।

ओली ठूलो दलको रुपमा प्रधानमन्त्री बनेको ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । ३० दिनभित्र पनि विश्वासको मत लिन सकेनन् भने संसद भङ्ग गरेर मध्यावधि निर्वाचनमा जाने तयारीमा रहेको वरिष्ठ अधिवक्ता पोखरेलको भनाइ छ ।

बिहीबार बालुवाटारमा बसेको स्थायी समितिको बैठक सक्किनेवित्तिकै ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए । भण्डारीसँग ओलीले सोही विषयमा परामर्श गरेको हुन सक्ने चर्चा छ ।

बिहीबार ट्वीट गर्दै वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले ओलीले विश्वासको मत पाउन सकेनन् भने ठूलो दलको रुपमा प्रधानमन्त्री बन्ने षड्यन्त्रमा लागेको बताएका छन् ।

‘धारा ७६ (२) बमोजिमको वर्तमान प्रधानमन्त्री केपी ओलीले २७ गते विश्वासको मत पाउनु भएन भने सोही साँझ राष्ट्रपतिबाट पुनः ओलीजीलाई नै सबैभन्दा ठूलो दलको नेताको हैसियतमा ७६ (३) बमोजिमको प्रधानमन्त्री नियुक्त गर्ने संभावना छ’, अधिवक्ता पोखरेलले भनेका छन् ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत पाउने सम्भावना निकै कम छ । ओलीले विश्वासको मत पाउने सम्भावना रह्यो भने एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल समूहले समूहिक राजीनामा दिने तयारीमा छ ।

नेपाल समूहले सामूहिक राजीनामा दियो भने ओलीले विश्वासको मत पाउन सक्ने छैनन् । ओलीले ठूलो दलको रुपमा आफूलाई नै प्रधानमन्त्रीमा दाबी गर्नेछन् । नेपाल समूहका करीव २० जना सांसदले सामूहिक राजीनामा दिँदा पनि ओली नेतृत्वको एमाले ठूलो दलका रुपमा रहनेछ ।

राष्ट्रपति भण्डारी पूर्वएमाले भएका कारण ओलीले भनेअनुसार काम गर्ने सम्भावना छ । भण्डारीले ओलीकै सिफारिसअनुसार विवादित निर्णय र कामहरू गर्दै आएकी छिन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपालसहितका दलहरू ओलीलाई विश्वासको मत दिने पक्षमा छैनन् । जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो ओलीलाई विश्वासको मत दिने पक्षमा छन् ।

यसअघि, लुम्बिनी प्रदेशमा एमालेका नेता शंकर पोखरेलले अविश्वास प्रस्ताव छल्न राजीनामा दिएर सोही दिन मुख्यमन्त्रीमा नियुक्त भई सपथ लिएका थिए ।

एमालेको ओली समूह छलछाम गरेर सत्ता टिकाउने खेलमा लागिरहेका बेला ओली पनि छलछामको राजनीतितिर लागेको आरोप छ ।

Published : Thursday, 2021 May 6, 6:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया