कांग्रेस मैदानमा आएपछि बालुवाटार ओलीको आकस्मिक बैठक, गरे यस्ता निर्णयहरू

काठमाडौं । सत्तारुढ एमालेले राष्ट्रिय सभाको निर्वाचन र विश्वासको मत लिने विषयमा छलफल गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको आकस्मिक स्थायी कमिटीको बैठकमा जेठ ६ गते हुन गइरहेको बागमती प्रदेशको राष्ट्रिय सभाको निर्वाचन र विश्वासको मत लिने विषयमा छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गरेपछि प्रधानमन्त्री केपी ओलीलाई तनाब बढेको छ । कांग्रेसको हातमा सत्ता जाने देखेपछि ओलीले स्थायी कमिटीमा छलफल गरेका छन् ।

एमालेले राष्ट्रिय सभाको निर्वाचनमा रामबहादुर थापालाई उम्मेदवार बनाउने यसअघि निर्णय गरिसकेको छ । थापालाई जिताउने गरेर सुझाव लिने काम भएको ज्ञवालीले बताएका छन् ।

विपक्षी गठबन्धनले राष्ट्रिय सभामा माओवादी केन्द्रका डा.खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

एमालेले मतदाताहरूसँग कुरा अगाडि बढाउने र आफ्नो उम्मेदवारलाई जिताउने प्रवक्ता ज्ञवालीले बताए ।

बैठकमा वैशाख २७ गते प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले विश्वासको मत कसरी लिने भन्नेबारेमा पनि छलफल गरेको छ ।

प्रवक्ता ज्ञवालीले भने, ‘विश्वासको मत लिनेबारेमा पनि छलफल भएको छ । सो विषयमा विभिन्न पक्षसँग छलफल चलिरहेको छ । छलफल वार्ता निरन्तरता चलाउने निर्णय भएको छ ।’

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको उम्मेदवार बनाउने विषयमा बिहीबारको स्थायी कमिटी बैठकमा कुनै छलफल नभएको ज्ञवालीले बताएका छन् ।

अविश्वासको प्रस्ताव लिने तयारीमा रहेका ओलीलाई आफ्नै पार्टी एमालेभित्रबाट वरिष्ठ नेता माधवकुमार नेपाल समूहको असहयोग हुन सक्ने ठूलो सम्भावना छ ।

जनता समाजवादी पार्टी (जसपा)ले पनि ओलीलाई सहयोग गर्न नसक्ने जनाइसकेको छ । तर, जसपाको महन्थ ठाकुर समूहले सहयोग गर्ने जना पनि त्यो भोटले ओलीलाई विश्वासको मत लिन सहयोग मिल्नेछैन ।

Published : Thursday, 2021 May 6, 12:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया