जालझेल गरेपनि पोखरेलको कुर्सी नटिक्ने, कांग्रेससहितका दलले भेटाए सरकार ढल्ने बलियो सुराक

बुटवल । माओवादी केन्द्र, नेपाली कांग्रेससहितका दलहरूले लुम्बिनी प्रदेशमा जबरजस्ती असंवैधानिक तरिकाले मुख्यमन्त्री बनेको भन्दै एमालेका नेता शंकर पोखरेलविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्ने चेतावनी दिएका छन् ।

सोमबार बुटवलमा पत्रकार सम्मेलन गरेर विपक्षी दलहरूले लम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथप्रसाद साह र एमालेका नेता शंकर पोखरेलको हर्कतको विरोध जनाएका हुन् ।

लुम्बिनी प्रदेशमा अल्पमतको दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्ति र सपथ गराइएको विपक्षी दलहरूले आरोप लगाएका छन् । प्रदेश सरकारको नीति तथा कार्यक्रम फेल गरेर पोखरेल सरकारलाई ढाल्ने विपक्षी गठबन्धनले चेतावनी दिएको छ ।

पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ति गर्ने कार्यको विरोधमा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा विरोध गरेका छन् ।

मुख्यमन्त्रीमा पोखरलको नियुक्ति असंवैधानिक, अलोकतान्त्रिक र तानाशाहीको पराकाष्ठा भएको विपक्षी दलहरूले बताएका छन् ।

उनीहरूले अल्पमतको मुख्यमन्त्रीलाई स्वीकार नगर्ने बताएका छन् । केन्द्रको निर्देशानुसार थप राजनीतिक कदम चाल्ने विपक्षी गठबन्धनका नेताहरूले पत्रकार सम्मेलनमा बताएका छन् ।

४२ सांसदको हस्ताक्षरसहित सरकारमा दावी पेश गर्दागर्दै ३७ जना सांसदको मात्रै समर्थन भएका पोखरेललाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुले लोकतन्त्रको हत्या र उपहास भएको उनीहरूले बताएका छन् ।

लुम्बिनी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले केपी ओलीको तानाशाही, अधिनायकवादी नमूना लुम्बिनी प्रदेशमा शंकर पोखरेलले देखाएको बताए । ‘शंकर पोखरेलविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्छौं’, कनौडियाले भनेका छन् ।

आइतबारको घटना अराजनीतिक र निकृष्ट घटना भएको भन्दै उनले संविधान मिचेर गरिएको नियुक्तिले अराजकता बढाएको बताएका छन् ।

शंकर पोखरेललाई जबरजस्त संविधान विपरित मुख्यमन्त्री बनाएको विषय सामान्य नरहेको कांग्रेस नेता कनौडियाले बताएका छन् ।

नेता कनौडियाले पोखरेल नेतृत्वको सरकारलाई धेरै दिन टिक्न नदिने चेतावनीसमेत दिएका छन् ।

‘संसदबाट कति दिन भाग्नुहुन्छ ?’, कांग्रेस नेता कनौडियाले प्रश्न गर्दै चेतावनी शैलीमा भने, ‘नीति, कार्यक्रम र बजेट ल्याउनु छैन र ? हामी पराजित गर्छौं ।’

मुख्यमन्त्रीले राजीनामा दिएर ग्राण्ड डिजाइन र षडयन्त्र अनुसार संसद छल्ने नाटक गरेको कनौडियाले बताएका छन् ।

यसैबीच, विपक्षी दलहरूको गठबन्धनले मुख्यमन्त्री पोखरेलको सपथ रोक्न धर्नामा बसेका महिला सांसदमाथि प्रदेश प्रहरी प्रमुख डीआईजी रविन्द्र धानुकले बल प्रयोग र महिला हिंसा गरेको आरोप लगाएको छ । डीआईजी धानुकलाई निलम्वन गर्न कांग्रेस नेता कनौडियाले माग गरेका छन् ।

डीआईजी धानुक आफैं प्रत्यक्ष संलग्न भएर महिलालाई हातपात र दुर्व्यवहार गरेकाले निलम्बन गर्नुपर्ने माग गरेको उनले बताएका छन् ।

डीआईजी धानुकविरुद्ध कानूनी उपचार पनि खोज्ने नेपाली कांग्रेसका सचेतक निर्मला क्षेत्रीले बताएकी छिन् ।

Published : Monday, 2021 May 3, 3:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया