१९२ घण्टाको जोडघटाउमा ओली, एमालेको विपक्षमा अंक गणित, यस्तो छ तथ्याङ्क

काठमाडौं । लुम्बिनी प्रदेशमा जालझेल गरेर एमालेका नेता शंकर पोखरेलले मुख्यमन्त्री पद कब्जा गरेकै दिन कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले विश्वासको मत लिने निर्णय गरेका छन् ।

बालुवाटारमा आइतबार बसेको एमालेको स्थायी समिति र मन्त्रिपरिषद बैठकबाट ओलीले विश्वासको मत लिने निर्णय गरेका थिए । त्यो निर्णयसँगै ओलीले शीतल निवासमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गरेका थिए ।

ओलीसँग भेट गरेकी भण्डारीले वैशाख २७ गतेका लागि प्रतिनिधि सभाको बैठक बोलाएकी छिन् । सोही बैठकबाट ओलीले विश्वासको मत लिनेछन् ।

ओलीले करीव १९२ घण्टापछि विश्वासको मत लिनेछन् । १९२ घण्टामा ओली सरकारको आयुको छिनोफोनो लाग्नेछ ।

प्रधानमन्त्री ओलीले संविधानको धारा १०० को उपधारा १ बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा प्रष्ट पार्न आवश्यक ठान्नकाले सोही प्रयोजनका लागि नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम वैशाख २७ गते अपराह्न १ बजे प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिएको छ ।

जनता समाजवादी पार्टी (जसपा) सरकार बनाउने खेलमा निर्णायक भूमिकामा छ । जसपाका अध्यक्ष उपेन्द्र यादव नेपाली कांग्रेससँग मिलेर सरकार बनाउने पक्षमा छन् । अर्का अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री ओलीसँग मिलेर सरकार बनाउन चाहन्छन् । जसपाको सोही कारण ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन सकेको थिएन ।

ओलीले विश्वासको मत लिनु अगाडि वरिष्ठ नेता माधव नेपाल समूहका सांसदहरूलाई कारबाही गर्न सक्ने अड्कलबाजी गरिरहेका छन् । ओलीले नेपाल समूहका २० सांसदसँग स्पष्टीकरण सोधिसकेका छन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ सांसद छन् । संसदको सबभन्दा ठूलो दल एमालेसँग १२१ छ ।

नेपाली कांग्रेसका ६१ सांसद छन् । दुई जना निलम्बनमा परेका छन् । माओवादी केन्द्रका ४९ र जनता समाजवादी पार्टी (जसपा)का ३२ सांसद छन् । जसपाका दुई सांसद निलम्बनमा परेका छन् ।

राप्रपा, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्र एक–एक सांसद छन् ।

विश्वासको मत प्राप्त गर्न प्रधानमन्त्री ओलीलाई संसदको बहुमत अर्थात १३६ मत चाहिन्छ । एमालेसँग १२१ मत छ । जसपाको मत तानेर विश्वासको मत लिने पक्षमा ओली छन् । ओलीका लागि त्यति सजिलो छैन । एमालेको नेपाल समूहले फ्लोर क्रस गर्ने सम्भावना निकै छ ।

एमालेको सबै मत ओलीले पाएमा विश्वासको मतका लागि थप १५ मत चाहिन्छ । जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ राजेन्द्र महतो समूहले मत दियो भने ओलीले विश्वासको मत पाउन सक्छन् । ओलीलाई आफ्नै पार्टी एमालेको माधवकुमार नेपाल समूहको मत पाउन निकै कठिन छ ।

अध्यक्ष ओलीले निर्णय नसच्याए फ्लोर क्रस हुनसक्ने सन्देश नेपाल समूहले कर्णालीबाट दिइसकेको छ ।

उता, एमालेका उपाध्यक्ष एवम् सांसद भीमबहादुर रावलले प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभाको अधिवेशन आह्वान गर्नु राजनीतिक व्यवस्था र लोकतन्त्रमाथिको निर्मम प्रहार भएको टिप्पणी गरेका छन् ।

राष्ट्रपति भण्डारीले आइतबार वैशाख २७ गते सोमबारका दिन अपराह्न १ बजे बैठक बस्ने गरी प्रतिनिधि सभाको अधिवेशन बोलाएकी थिइन् ।

उक्त सूचना जारी भएलगत्तै रावलले ट्वीटरमार्फत् यो कदम प्रतिनिधि सभाको विघटनमा झैं संविधान मिच्ने कार्य भएको बताएका छन् ।

‘यो प्रतिनिधि सभाको विघटनमा झैं संविधान मिच्ने कार्य हुनुका साथै हालको राजनीतिक व्यवस्था र लोकतन्त्रमाथिको निर्मम प्रहार हो । सबैमा चेतना भया’, उनले भनेका छन् ।

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकाले अधिवेशन बोलाइएको जनाइएको छ ।

सोही प्रयोजनका लागि नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७८ साल वैशाख २७ गते सोमबार अपरान्ह १ः०० बजे अधिवेशन बोलाइएको हो ।

Published : Sunday, 2021 May 2, 10:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया