७० करोड काण्डले मन्त्री फुत्काएका गोकुल बास्कोटालाई ओलीले दिए दुई ठूला जिम्मेवारी

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड कमिशनको अडियो टेप सार्वजनिक भएपछि तत्कालीन सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटालाई काभ्रे जिल्लाको इञ्चार्जसहित थप दुई जिम्मेवारी दिएको छ ।

प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले बास्कोटालाई गाउँपालिका महासंघको इन्चार्ज र नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको इन्चार्जको जिम्मेवारी दिएका हुन् । बास्कोटालाई दिइएका दुवै जिम्मेवारी रणनीतिक महत्वका छन् ।

यसअघि वैशाख १० गतेको एमालेको बैठकले बास्कोटालाई काभ्रे जिल्ला इञ्चार्जको जिम्मेवारी मात्रै दिएको थियो ।

काठमाडौं र भक्तपुर बाहेक ७५ वटै जिल्लामा गाउँपालिकाको सञ्जाल रहेकाले महासंघ एमालेको राम्रो संगठनभित्र पर्छ ।

बास्कोटालाई सेवा निवृत्त सेना तथा प्रहरीको संगठन समेत हेर्ने जिम्मेवारी दिएर आगामी चुनावको तयारी एमालेले गरेको छ ।

भूतपूर्व सैनिक र प्रहरी देशका गाउँ गाउँमा रहेका छन् र उनीहरुको ठूलो सञ्जाल छ ।

पूर्व सैनिक र प्रहरीको क्षमता तथा सिपलाई पार्टी तथा मुलुक निर्माणको अभियानमा लगाउनेृ भन्दै एमालेले तिनीहरूका अलग संगठन बनाएको छ ।

Published : Sunday, 2021 May 2, 11:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया