चार मन्त्री बनाउँदा पनि फुत्कियो शंकर पोखरेलको मुख्यमन्त्री पद, बालुवाटारलाई तनाब

बुटवल । नेपाली कांग्रेससहितका विपक्षी मोर्चाको घेराबन्दी तोड्न नसकेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् ।

पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामा बुझाएको उच्च स्रोतले जनाएको छ । जनता समाजवादी पार्टीका चार जना सांसदलाई मन्त्री बनाउँदा पनि मुख्यमन्त्री पदको कुर्सी नबच्ने भएपछि पोखरेलले पदबाट राजीनामा दिएका छन् ।

कोरोना महामारीबा बेला काम गर्न नसकेको, आफ्नै गृहजिल्ला दाङको कोरोना अस्पतालमा बेवास्ता गरेको, कोरोनाका बेला पार्टी कार्यालय र अपुरो धरहरा उद्घाटन गर्न हिँडेको जस्ता आरोप पोखरेललाई लाग्दै आएको थियो ।

मुख्यमन्त्री पोखरेलका विरुद्ध गत वैशाख ६ गते प्रदेश सभा सचिवालयमा नेपाली कांग्रेस, माओवादी र जसपाका ५ नेतासहित ४१ जनाले अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

भावी मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको सो प्रस्तावमा आइतबार शुरु हुने विशेष अधिवेशनमा छलफल प्रारम्भ हुँदै थियो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेल प्रधानमन्त्री खड्गप्रसाद ओलीका अत्यन्तै विश्वापत्रा मानिन्छन् । पोखरेलको सुझावमा ओलीले विभिन्न खालका गतिविधि गर्दै आएको तथा एमाले भन्ने पार्टी र तत्कालीन नेकपा विभाजनसम्म पुगेको आरोप छ ।

Published : Sunday, 2021 May 2, 9:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया