कांग्रेसले बहिस्कार गरेका मनाङेलाई महामन्त्री कुँवरले दिइन बधाई, नेविसंघभित्र खैलाबैला

काठमाडौं । गण्डकी प्रदेशमा नेपाली कांग्रेससहितको विपक्षी दलको मोर्चाका सांसदलाई एमालेले अपहरण गरेको आरोप राष्ट्रिय जनमोर्चाले लगाएको छ ।

कांग्रेसको विपक्षी मोर्चामा रहेको राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही एमालेको अपहरणमा छन् भनेर जनमोर्चाले भन्दै आएको छ ।

जनमोर्चाका सांसद शाहीलाई एमालेका सांसद राजिव पहरीको पोखरास्थित चरक अस्पतालमा राखिएको छ । एमालेले शाहीलाई कसैलाई पनि भेट्न दिएको छैन । एमाले र शाही तथा मनाङेका कारण अविश्वासको प्रस्ताव गण्डकी प्रदेशमा अलपत्र परेको छ ।

कांग्रेससहितका दलहरूले गण्डकी प्रदेशमा दर्ता गराएको अविश्वासको प्रस्ताव फेल गराउन एमाले र कम्युनिस्ट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ज्यान फालेर लागेका छन् । उनीहरूलाई मनाङेले साथ दिएका छन् ।

विभिन्न अपराधमा सजाय पाएर राजनीतिमा प्रवेश गरेका स्वतन्त्र प्रदेश सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेले शुरुमा विपक्षी मोर्चालाई साथ दिने भनेका थिए । खेलकुद मन्त्री बनेपछि एमालेकै सरकारलाई साथ दिए । मन्त्री पदको शपथ र जिम्मेवारी सम्हालेका छन् ।

कांग्रेससहितका दलहरूले सदनमा पेश गरेको अविश्वासको प्रस्ताव फेल गराउन खेलकुद मनाङे पनि लागेका छन् ।

यही क्रममा मनाङेलाई एमाले र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले खेलकुद मन्त्री बनाए । मनाङेको आलोचना र समर्थन दुबै भइरहेको छ ।

शुभकामना दिनेको भिडै लागेको छ । सामाजिक सञ्जाल शुभकामना र बधाईले रंगिएको छ । विगतको अपाराधिक पृष्ठभूमिका कारण कांग्रेस नेताहरूले मनाङेलाई रुचाउँदैनन् । मनाङे सहभागी कार्यक्रमलाई कांग्रेस नेताहरूले बहिस्कार जस्तै गर्दै आएका छन् ।

तर, नेपाली कांग्रेसका भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)की महामन्त्री महेश्वरी कुँवरले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री मनाङेलाई सामाजिक सञ्जालमार्फत बधाई दिएर सबैलाई चकित तुल्याइदिएकी छिन् । अविश्वासको प्रस्तावलाई लिएर कांग्रेसले मनाङेलाई अहिलेको अवस्थामा राजनीतिक दुश्मन मानेको छ ।

फेसबुकमार्फत मनाङेका शुभेच्छुक र विभिन्न व्यक्तिहरूलाई ट्याग गरेर महामन्त्री कुँवरले बधाइ दिएपछि उनको राजनीतिक व्यक्तिमाथि गम्भीर प्रश्न उठेको छ ।

‘गण्डकी प्रदेश सरकारमा युवा तथा खेलकुद मन्त्रीमा नियुक्त हुनु भएकोमा आदरणीय दाई राजिव गुरुङ (दीपक मनाङ्गे)लाई हार्दिक बधाई’, नेविसंघकी महामन्त्री कुँवरले भनेकी छिन्, ‘सफल कार्यकालको हार्दिक शुभकामना ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी धर्मपत्नी एवम् पूर्वसांसद डा.आरजु राणा निकट मानिने महामन्त्री कुँवरले कांग्रेसविरुद्ध लागेको व्यक्ति र मन्त्रीलाई किन यसरी बधाइ र शुभकामन दिइन् ? भनेर नेविसंघभित्र खैलाबैला भएको छ ।

डा.राणाकै दवाव र जोडबलमा कुँवर महामन्त्री नियुक्त भएको आरोप लागेका बेला कुँवरले आफ्नै सभापतिको देउवाको कदमलाई ठेस लाग्ने गरेर मनाङेलाई बधाई दिएर कांग्रेस हँसाएकी छिन् ।

अविश्वासको प्रस्ताव थिएन भने नेविसंघ महामन्त्री कुँवरले मनाङेलाई बधाई दिएको भएपनि कुनै प्रश्न उठ्ने थिएन ।

गण्डकी प्रदेश संसदीय दलले मनाङेले शपथ लिएको कार्यक्रमलाई बहिस्कार नै गरेको थियो । पार्टीले बहिस्कार गरेको मन्त्री मनाङेलाई कुँवरले कुनै हैसियत र उदेश्यले बधाई दिएकी हुन् गम्भीर प्रश्न उठेको छ । कुँवरका आलोचकहरू पदीय जिम्मेवारी र हैसियत भुलेको भन्दै महामन्त्री पदबाट राजीनामा समेत मागेका छन् ।

कांग्रेसविरुद्ध लागेका र एमालेको मन्त्रिमण्डलमा सहभागी भएका मनाङेलाई बधाई दिएर नेविसंघ महामन्त्री कुँवरले अहिलेको अवस्थामा ठूलो गल्ती गरेको सामाजिक सञ्जालमा नेविसंघका नेताहरूले टिकाटिप्पणी गरेका छन् ।

Published : Saturday, 2021 May 1, 1:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया