सांसद अपहरणको वात लागेका महेश बस्नेतको जिम्मेवारी खोसियो, भक्तपुरमा सन्नाटा

काठमाडौं । सांसद अपहरणको अभियोग लागेका एमालेका विवादित नेता महेश बस्नेतको जिम्मेवारी खोसिएको छ ।

केही दिन अगाडि बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले बस्नेतलाई युवा संघ नेपाल र नेपाल खेलकुद महासंघ तथा सम्बद्ध संस्थाहरूको इञ्चार्जको जिम्मेवारी दिएको थियो ।

बस्नेतलाई दुई वटा महत्वपूर्ण संगठनको इञ्चार्ज दिएको भन्दै विरोध भएको थियो । विरोध भएपछि नेता बस्नेतलाई नेपाल खेलकुद महासंघको इञ्चार्जबाट हटाइएको एमालेका एक नेताले जनाएका छन् ।

बस्नेतबाट खेलकुद महासंघ खोसेर माओवादी पृष्ठभूमिका नेता एवम् युवा तथा खेलकुदमन्त्री दावा लामालाई दिइएको छ ।

पार्टी बैठकले लामालाई युवा तथा खेलकुद विभागको प्रमुख तोकेको थियो । अब लामाले पार्टी संगठनमा दोहोरो जिम्मेवारी र मन्त्रालयको नेतृत्व गर्नेछन् ।

एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई ‘बा’ भनेर सम्बोधन गर्ने बस्नेतलाई तत्कालीन संघीय समाजवादी पार्टीका सांसदलाई तराईबाट अपहरण गरेर काठमाडौं ल्याएको आरोप लागेको थियो । बस्नेतको अपहरण काण्डमा नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनालले साथ दिएका थिए ।

एमालेका नेता बस्नेत दुई दिन अगाडि वैशाख १५ गते गण्डकी प्रदेशको सांसद बेपत्ता भएपछि भर्ना भएको अस्पतालमा टुप्लुक्क देखिएका थिए । राष्ट्रिय जनमोर्चाले प्रदेश सांसद खिमविक्रम शाहीलाई अपहरण गरेको आरोप लगाएको छ ।

सांसद शाहीलाई भर्ना गरिएको पोखराको चरक अस्पतालमा बस्नेत देखिएका थिए । यो अस्पताल एमालेकै गण्डकी प्रदेशका सांसद राजिव पहरीको हो ।

शाहीलाई कोरोना भएको भन्दै अपस्तालमा भर्ना गरेर कसैसँग भेट्न दिइएको थिएन । संसद सचिवालयले गरेको परीक्षणमा शाहीको कोरोनाको रिपोर्ट नेगेटिभ देखिएको थियो ।

Published : Friday, 2021 April 30, 11:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया