देउवाले कांग्रेसको इज्जत बचाए, नयाँ खुलासाले बालुवाटारको सातो उड्यो, एमसीसीका खेलाडीहरूको पर्दाफास

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार बनाउन बहुमत नपुगेको बताएका छन् ।

शुक्रबार बुढानिकलण्ठमा पत्रकार सम्मेलन गरेर देउवाले संख्या पुग्नेवित्तिकै कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताए । उनले दलहरूसँग सम्वाद भइरहेको बताएका छन् ।

कांग्रेसले केपी ओली सरकारको विकल्प खोज्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरिसकेको बताएका सभापति देउवाले नयाँ सरकार बनाउन बहुमत भने नपुगेको बताए ।

उनले जसपासँग कुरा भइरहेको पनि बताए । ‘जसपासँग मेरो कुरा भइरहेको छ सबै कुरा अहिले म कहाँ भन्छु ?, तर अहिलेसम्म बहुमत पुगेको छैन’, उनले भने, ‘बहुमत पुगेपछि तपाईंहरूलाई बोलाएरै भनौंला ।’

उनले प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव ल्याउन पनि बहुमत पुगिनसकेको बताएका छन् ।

अविश्वास प्रस्ताव फेल भयो भने एक वर्ष ल्याउन नपाइने भन्दै उनले त्यसका लागि तयारी राम्रो गर्नुपर्ने बताए । उनले भनेका छन्, ‘अविश्वास प्रस्ताव र नयाँ सरकारका लागि संख्या पुगेको छैन ।’

सभापति देउवाले एमसिसीबारे भ्रम फैलाइएको पनि बताएका छन् । उनले बाबुराम भट्टराई, सुशील कोइरालाका पालादेखि एमसीसीको प्रक्रिया अगाडि बढेको र आफ्नो नेतृत्वमा रहेको सरकारले मन्त्रिपरिषदबाट पास मात्रै गरेको बताए । सभापति देउवाले एमसीसी ठूलो अनुदान भएको पनि बताए ।

‘बाबुराम भट्टराई र सुशील कोइरालाको पालादेखि यो एमसिसी सुरू भएको हो । मेरो बेलामा मात्रै आएको होइन’, उनले भने, ‘मेरो बेलामा यत्ति भएको हो– क्याबिनेट डिसिजन गरेर मन्त्रीजीलाई पठाएको हो अमेरिकामा ।’

देउवाले भनेका छन्, ‘यो ठूलो अनुदान हो, ब्याज तिर्नु पर्ने पनि छैन । यो केबल अनुदान हो ।’

एमसीसीबारे भ्रम फैलाइएकोमा उनले असन्तुष्टि पोखेका छन् । ‘यो सित्तैमा दिएको अनुदान हो, ब्याज तिर्नु पनि पर्दैन । तर हरेक भ्रम फैलाइएको छ’, उनले भने, ‘अमेरिकी सेना आउँछ भनेर, कसले आउन दिन्छ नेपालमा अमेरिकी सेना ?’

देउवाले प्रश्न गर्दै भने, ‘अमेरिकी सेना आउन दिउँला त म आफैँले ? यस्ता झुठा प्रचार गर्ने ?’ एमसीसी पारित गर्ने सन्दर्भमा अहिले कुनै छलफल नभएको उनले बताएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि एमसीसी पारित गर्न सहयोग गर्ने देउवाले बताएका छन् । उनले एमसीसी पारित नगर्दा आफू अफ्ठ्यारोमा पर्ने भनेर आएका समाचारको खण्डन गर्दै भने, ‘मैले कहाँ भने । नभनेको कुरा लेख्ने ।’

Published : Friday, 2021 April 30, 4:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया