सीसीटीभीको फुटेजले गण्डकी काण्डको फर्दाफास हुने, सांसद बेपत्ता बनाउने मतियारहरूको भागाभाग

पोखरा । राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीको पीसीआर रिपोर्टको छानविनको माग उठेको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले बिहीबार संयुक्त विज्ञप्ति जारी गरेर जनमोर्चाका प्रदेशसभा सांसद शाहीको पीसीआर रिपोर्ट छानबिन गर्न माग गरेका छन् । सीसीटीभीको फुटेज सार्वजनिक हुनेवित्तिकै घटनाको सत्यतथ्य सार्वजनिक हुने उनीहरूले बताएका छन् ।

शाहीले मंगलबार प्रदेशसभा सचिवालयमा दिएको स्वाबको रिपोर्टमा कोरोना संक्रमण नेगेटिभ देखिएको थियो । पछि लाइफ केयर डाइग्नोस्टिक ल्याबमा गरेको भनिएको परीक्षणमा पोजेटिभ देखिएको भन्दै तीन दलले छानबिनको माग गरेका हुन् ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र जनता समाजवादी पार्टीका संसदीय दलका नेता हरिचरण आचार्यले विज्ञप्तिमा हस्ताक्षर गरेका छन । उनीहरूले पीसीआर रिपोर्टको छानबिन गरी प्रयोगशालाहरूको विश्वसनीयताको जाँच गर्न माग गरेका हुन् ।

तीन दलका नेताहरूले सांसद शाहीको उपचार भइरहेको चरक अस्पतालमा सुरक्षाकर्मी परिचालन गर्नु रहस्यपूर्ण रहेको बताएका छन् ।

अस्पतालको सीसीटीभी हार्डवेयरको जाँच गरी सम्पूर्ण फुटेज सार्वजनिक गर्न माग गरिएको छ ।

प्रदेशसभा सदस्यलाई धम्की र प्रलोभन दिने व्यक्ति र समूहलाई कानूनको कठघरामा ल्याई सभामुख र अविश्वास प्रस्तावका पक्षधर सांसदको सुरक्षा सुनिश्चित गर्न विज्ञप्तिमा माग गरएको छ ।

चरक अस्पतालको गैरजिम्मेवार कार्यको उनीहरूले भर्त्सना गरेका छन् । विपक्षी दलका सांसदहरूलाई विभिन्न फोन नम्बरहरू प्रयोग गरेर धम्की दिएको भन्दै कारबाहीको माग विज्ञप्तिमा गरिएको छ ।

कांग्रेससहितका प्रमुख तीन दलका संसदीय दलका नेताहरूले संयुक्त रुपमा हस्ताक्षर गरेर छाविन र कारबाहीको माग गरेपछि सांसद बेपत्ता बनाउने काण्डमा संलग्न सत्तारुढ दल एमालेका मतियारहरूको भाग्ने अवस्था सिर्जना भएको सांसदहरूले बताउन थालेका छन् । घटनाको छानविन भयो भने मतियारहरू भाग्नुको बिकल्पन रहनेछैन ।

Published : Thursday, 2021 April 29, 8:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया