ओलीको चक्करमा ठाकुर लाग्दा चार सांसदको पद चट्, शंकर पोखरेललाई तनाब

बुटवल । लुम्बिनी प्रदेशमा एमालेको कम्युनिस्ट सरकारलाई साथ दिने चार जना सांसदहरूलाई जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश सभा सदस्य र पार्टी सदस्यबाट निष्काशन गरेको सूचना जारी गरेको छ ।

बिहीबार जसपाका प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले सूचना पत्र– ४ जारी गरेर सांसदहरू सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई निष्काशन गरिएको सूचना टाँस गरिएको जनाएका छन् ।

रुपन्देही क्षेत्र नं. ३ (१) बाट निर्वाचित सन्तोषकुमार पाण्डेय, बाँके क्षेत्र नं. २ (१) बाट निर्वाचित विजयबहादुर यादव, समानुपातिक सांसदद्वय सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले पार्टीको विधान र नीति विपरितको कार्य गरेपछि राजनीतिक दलसम्बन्धी ऐन बमोजिम कारबाही गरिएको सूचनामा उल्लेख छ ।

जसपाका यी चार सांसदहरूले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको पद बचाउन सहमति गरेका थिए । उनीहरू जसपाका अध्यक्ष महन्थ ठाकुर निकटका हुन् । पोखरेलको कुर्सी बचाउन सहयोग गर्ने भएपछि मन्त्री समेत बनाइएको छ ।

उता, जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले लम्बिनी प्रदेशका सभामुखलाई पत्र लखेर कुनै पनि सांसदलाई पार्टीले कारबाही नगरेको जनाएका छन् ।

‘लम्बिनी प्रदेशमा पूर्वराजपा नेपाल र पूर्व सपाका प्रदेश समितिको समायोजन हुन र नसकी जसपा नेपालको प्रदेश समिति गठन हुन बाँकी नै रहेको तर, प्रदेश सभामा दुबै संसदीय दलको समायोजना भई जसपा नेपाको ६ सदस्यीय संसदीय दल गठन भाई कार्यरत रहेकोले यसैलाई स्वायत्तता दिइ प्रदेश सभासम्बन्धी सम्पूर्ण कार्य लोकतान्त्रिक प्रक्रियाबाट गर्न गराउन निर्देशन पठाइएको र त्यसैलाई मान्यता दिइने व्यहोरा जानकारी गराइन्छ’, पत्रमा ठाकुरले भनेका छन्, ‘केन्द्रीयस्तरबाट लुम्बिनी प्रदेश सभा सदस्यहरूलाई कुनै कारबाही नभएको व्यहोरा समेत अनुरोध छ ।’

जसपाभित्रको आन्तरिक विवाद यी दुई पत्रसँग औपचारिक रुपमा बाहिर आएको छ । उपेन्द्र यादव प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई हटाएर नेपाली कांग्रेससँग सहकार्य गरेर जाने पक्षमा छन् ।

महन्थ ठाकुर प्रधानमन्त्री ओलीसँग मिलेर सरकारमा जान चाहेका छन् । ओलीले ठाकुरलाई प्रधानमन्त्री बनाउने चर्चा समेत चलेको छ ।

जसपाभित्रको आन्तरिक विवाद बाहिर आएपछि लम्बिनी प्रदेशमा एमालेबाट मुख्यमन्त्री बनेका पोखरेल तनाबमा परेका छन् । कुर्सी बचाउन पोखरेलले मन्त्री बनाएर जसपा फुटाएको आरोप छ ।

Published : Thursday, 2021 April 29, 7:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया