सांसद अपहरणको आरोप लागेका महेश बस्नेत जनमोर्चाका सांसद राखेकै अस्पतालमा भेटिए

पोखरा । एमालेका नेता एवम् प्रतिनिधि सभाका सांसद महेश बस्नेत गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीलाई अपहरण गरेर राखिएको आरोप लागेको अस्पतालमा पुगेका छन् ।

एमालेको गण्डकी प्रदेश सरकार ढल्ने निश्चित सरह भएपछि राष्ट्रिय जनमोर्चाका सांसद शाही बुधबार आचनक बेपत्ता भएका थिए । केही समयपछि शाही पोखरास्थित चरक अस्पतालको आइसीयुमा भेटिएका थिए ।

चरक अस्पताल एमालेका गण्डकी प्रदेशका सांसद राजिव पहरीको हो । सो अस्पतालको अध्यक्ष राजिव पहरीकी पत्नी सिर्जना पहरी अध्यक्ष छिन् । राजिव पहरीले अस्पतालमा महेश बस्नेतलाई स्वागत गरेका छन् ।

यसअघि, एमालेका नेता बस्नेतलाई संघीय समाजवादी पार्टीका प्रतिनिधि सभाका सांसद डा.उमाशंकर अडगरियालाई अपहरण गरेको आरोप लागेको थियो । जनमोर्चाका सांसद शाहीलाई एमालेले अपहरण गरेको आरोप अध्यक्ष चित्रबहादुर केसीले लगाइरहेका बेला बस्नेत सोही अस्पतालमा आइपुगेका छन् ।

एमालेका नेता पहरीको चरक अस्पतालले सांसद शाहीको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जनाएको छ । यसअघि गण्डकी प्रदेशकै बैठकमा पहरीले नै संसद अबरोध गरेर पीसीआर परीक्षण गराएका थिए । शाहीको रिपोर्ट नेगेटिभ थियो ।

गण्डकी सरकारविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदानको प्रक्रिया शुरु हुनै लाग्दा आफ्ना सांसद शाहीलाई अचानक अस्पताल पुर्‍याइएको घटनालाई राष्ट्रिय जनमोर्चाले एमालेको षड्यन्त्रपूर्ण गतिविधि भनेको छ ।

अविश्वासको प्रस्तावका पक्षमा बहुमत पुग्ने देखेपछि सत्ता जोगाउन एमालेको सरकारले आफ्ना सांसदलाई अपहरण गरेको जनमोर्चाको आरोप छ ।

पोखरामा चरकभन्दा राम्रा अस्पतालहरू छन् । जनमोर्चाका सांसद शाहीलाई एमालेका नेता एवम् सांसद पहरीकै अस्पतालमा भर्ना हुनुको कारण पनि रहस्यपूर्ण छ ।

खड्गप्रसाद ओलीको केन्द्रीय सरकार जोगाउन गत वर्ष लकडाउनका बेला पूर्वआईजीपी सर्वेन्द्र खनालसँग रातारात मधेश झरेर सांसद डा.अडगरियालाई काठमाडौं ल्याएका एमाले नेता बस्नेत चरक अस्पतालमा देखिएपछि जनमोर्चाले अपहरणको आशंका गरेको छ ।

सांसद शाहीलाई भेट्न नदिइएको भन्दै अध्यक्ष केसीले अपहरणको आशंकालाई बल पुगेको बताएका छन् ।

शाहीलाई भेट्न गएका जनमोर्चा कास्कीका अध्यक्ष शंकर बराललाई अस्पतालको गेटमै रोकेपछि ठूलो योजनाका साथ सत्ता टिकाउने खेल भइरहेको जनमोर्चाको बुझाई छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारीलाई फोन गर्दै बरालले सांसद शाहीको अवस्थाबारे जानकारी लिन पाउनुपर्ने भने पनि अस्पतालले रोकेको बताएका छन् ।

अस्पतालका डा.बद्री पौडेलले ‘उहाँ मर्न पनि सक्नुहुन्छ’ भनेको जनमोर्चाका अध्यक्ष बरालको भनाइ छ ।

‘उहाँ मर्न पनि सक्नुहुन्छ भनेर डा.पौडेलले भनेको छ’, अध्यक्ष पौडेलले भने, ‘मार्ने इन्जेक्सन लगाएर राखेको रहेछ कि के थाहा ।’

अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने सांसद भएकाले सरकारले राज्य शक्तिको दुरुपयोग गरेर लुकाएको पनि उनले आरोप छ ।

जनमोर्चाका सांसद शाही बुधबार बिहान साढे ११ बजे सम्पर्कमा थिए । त्यसपछि फोन स्विच अफ भएको थियो ।

Published : Thursday, 2021 April 29, 5:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया