ओली सरकारका मन्त्री साहलाई ठूलो झड्का, प्यारा मान्छेहरूको पद जाने पक्का

काठमाडौं । एमालेतिर लागेका दुई मेयर र पाँच उप–मेयरलाई माओवादी केन्द्रले कारबाही गरेर निर्वाचित पदनै उडाइदिने पहल थालेको छ ।

माओवादीले पार्टीलाई धोका दिने मेयर र उप–मेयरहरूलाई कारबाही गरेको हो । मेयर र उप–मेयरहरू एमालेतिर लागेपछि रौतहटका दुई मेयर र पाँच उप–मेयरलाई माओवादीले पार्टीबाट निष्काशन गर्दै पदमुक्त गर्न कारबाही अगाडि बढाएको हो ।

मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको माओवादीले जनाएको छ ।

उनीहरूले पार्टीको प्रदेश समिति सदस्य थिए । मेयरद्वय साह र कुशवाहा खड्गप्रसाद ओली नेतृत्वको सरकारका शहरी विकासमन्त्री प्रभु साह निकटका हुन् । मन्त्री साहले माओवादी परित्याग गरेर ओली सरकारका मन्त्री बन्न गएका छन् ।

उप–प्रमुखहरू मौलापुर नगरपालिकाका गौरीशंकरप्रसाद जयसवाल, फतुवाविजयपुरकी कान्तिदेवी महतो, देवाही गोनाहीकी परनियादेवी पटेल, माधवनारायणकी सिमलकुमारी साह र यमुनामाई गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी साहलाई पार्टीबाट निष्काशित गरेको माओवादी केन्द्रका रौतहट जिल्ला सचिव देवेन्द्र पटेलले जानकारी दिए ।

माओवादीले कारबाही गर्नुभन्दा अगाडि स्पष्टीकरण सोधेको थियो । पार्टीको विधानविपरीत काम गरेकाले उनीहरूसित स्पष्टीकरण सोधेको सचिव पटेलले बताए । ‘चित्तबुझ्दो जवाफ नआएपछि पार्टीले निष्कासन गरेको हो’, उनले भनेका छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएर दल त्याग गरेको भन्दै पार्टी केन्द्रीय समितिको बैठकले दुई मेयर र पाँच उप–मेयरलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि निष्कासित गरिएको पार्टी अध्यक्ष पुष्पकमल दाहालद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

सर्वोच्च अदालतको २०७७ फागुन २३ को निर्णयले पूर्ववत रुपमा कायम भएको माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरू पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकाले कारबाही गरिएको पत्रमा उल्लेख छ ।

Published : Thursday, 2021 April 29, 9:39 am

फेसबुकबाट तपाईको प्रतिक्रिया