सत्ताका लागि गण्डकीमा एमालेको फोहोरी खेल, सांसदनै गायब, नाङ्गिए कम्युनिस्टहरू

काठमाडौं । गण्डकी प्रदेशमा सत्ता बचाउन एमालेले सत्ताको फोहोरी खेल खेलेको छ । एमालेका पृथ्वीसुब्बा गुरुङको बुधाबार बेलुका फुत्किने तयारीमा रहेको मुख्यमन्त्री पद केही समयका लागि बचेको छ ।

बुधबार बसेको गण्डकी प्रदेशको प्रदेश सभा बैठकमा मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि मतदान हुने कार्यक्रम थियो । राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अचानक बेपत्ता भएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

एमालेले गण्डकी प्रदेशको बैठक लम्बाउन आफ्ना सांसदहरूलाई बोल्नका लागि लामो सूची टिपाएको थियो । जनमोर्चाका सांसद शाही बेपत्ता हुनेवित्तिकै बोल्ने सांसदहरूको सूची छोट्याएर एमालेले हतारहतारमा मतदानका लागि दवाव दिएको थियो ।

बेपत्ता सांसद खोज्न कांग्रेसका मेखलाल श्रेष्ठ, जनता समाजवादीका धनमाया लामा र जनमोर्चाका सांसद पियारी थापा सांसद शाहीको डेरासम्म पुगेका थिए । उनीहरूले शाहीलाई भेटेनन् । घरधनीले मंगलबार रातिदेखिनै सांसद शाही कोठामा नआएको जवाफ दिएका थिए ।

अविश्वासको प्रस्तावको पक्षमा एक जना सांसद अनुपस्थित हुनेवित्तिकै एमालेको सरकार टिक्ने थियो । एमालेले विपक्षी दलहरूको मोर्चाभित्र पसेर खेल्ने प्रयास गरेको छ ।

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्तावमा कांग्रेस, माओवादी र जसपाका २८ जना सांसदले हस्ताक्षर गरेका छन् ।

प्रदेश सभामा रहेका जनमोर्चाका ३ जना सांसद अविश्वास प्रस्ताव पास गर्न निर्णायक थिए । ६० सदस्यीय प्रदेश सभामा बहुमत पु¥याउन ३१ जना सांसदको सहमति चाहिन्छ ।

जनमोर्चाका सांसद शाही हराएपछि अविश्वास प्रस्ताव फेल हुने अवस्था भएको थियो । जनमोर्चाका सचेतक पियारी थापाले संसद सचिवालयमा आफ्ना सांसद हराएको भन्दै संसद रोकेर खोजबिनमा लाग्न माग गरेकी छिन् ।

पियारीले दर्ता गराएको निवेदनमा भनिएको छ, ‘हाम्रो पार्टीका सांसद खिमविक्रम शाहीको अवस्था अज्ञात रहेकाले उहाँको अवस्था सार्वजनिक गर्न, जीवन रक्षा गर्न र उहाँ सार्वजनिक नभएसम्म सदनको कारबाही नचलाइयोस् ।’

पियारीले निवेदन दिएपछि सभामुख नेत्रनाथ अधिकारीले संसद बैठक २० मिनेट स्थगित गरेका थिए । संसदमा शाही उपस्थित हुन नसक्ने देखेपछि सभामुख अधिकारीले अनिश्चितकालका लागि सदन स्थगित गरिदिएका छन् ।

संसद स्थगित भएपछि हराएका जनमोर्चाका सांसद शाही पोखराको चरक अस्पतालको आइसियूमा भेटिएका थिए । बेपत्ता भएर सरकार जोगाइदिएका शाहीलाई भेट्न मुख्यमन्त्री गुरुङसहितका प्रदेशमन्त्रीहरू बुधबार साँझ पुगे अस्पताल पुगेर स्वस्थ्यलाभको कामना गरेका छन् ।

सांसद पियारीले आफ्ना सांसद हराएको भन्दै सदन रोक्न दिएको निवेदनप्रति जनमोर्चाकै संसदीय दलका नेता कृष्ण थापा असन्तुष्ट छन् ।

थापाले हराइरहेका सांसद शाही आफूसँग सम्पर्कमा रहेको दाबी गरेका छन् । मतदान गर्ने बेला आउँछु भनेर सांसद शाही निस्किएको संसदीय दलका नेता थापाले बताएका छन् ।

गण्डकी सरकारविरुद्ध मतदान गर्ने राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिको निर्णय सांसद थापा र शाहीलाई मन परेको छैन ।

जनमोर्चाकी सांसद पियारीले एमालेको प्रदेश सरकार हटाउनुपर्ने पार्टी निर्णय मानेर जानुपर्ने बताएकी छिन् ।

जनमोर्चाका सांसद शाहीका कारण गण्डकी प्रदेशको राजनीति अस्थिरतातर्फ गएको छ ।

आइसियूमा भेटिएका सांसद शाहीलाई कोरोना पोजेटिभ रिपोर्ट आएको भनिएको छ । मंगलबार स्वाब लिएर प्रदेश जन–स्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा बुधबार बिहान नेगेटिभ रिपोर्ट आएको थियो ।

शाहीले मंगलबार नै पोखराको अर्को लाइफकेयर डाइग्नोस्टिक सेन्टरमा दिएको स्वाबको रिपोर्ट भने पोजेटिभ आएको छ ।

एमालेले सबै सांसदको स्वाब परीक्षण गर्नुपर्ने भन्दै मंगलबार सदन अवरुद्ध गरेको थियो ।

कोरोना परीक्षण गर्दा एमालेका सांसद राजीव पहारी, प्रभा कोइराला र कांग्रेस सांसद मनकुमारी गुरुङको रिपोर्ट पोजेटिभ आएको थियो ।

जनमोर्चाका सांसद शाहीले भने एकै दिन कोरोना परीक्षण गर्न दिएको स्वाबको रिपोर्ट छुट्टाछुट्टै प्रयोगशालाबाट फरक–फरक आएको थियो ।

कोरोना संक्रमितलाई पनि मतदानको व्यवस्था भएकाले शाहीको रिपोर्ट पोजेटिभ आए पनि मतदानमा भाग लिन सक्थे । शाहीले बुधबार दिउँसोदेखि नै मोबाइल अफ गरेर राखेका थिए । यसले मतदानमा भाग नलिने उनको मनसाय देखिन्छ ।

सत्ता जोगाउन एमालेले अविश्वास प्रस्ताव आउनुअघिदेखि कसरत गरेको थियो ।

वैशाख २ गते अविश्वास प्रस्ताव आउने विपक्षीको तयारी थाहा पाएर मुख्यमन्त्री गुरुङले चलिरहेको हिउँदे अधिवेशन वैशाख १ गते मध्यरात अन्त्य गरिदिए ।

विपक्षी दलले प्रदेश प्रमुख अमिक शेरचनलाई संसदको विशेष अधिवेशन बोलाउन निवेदन दिएका थिए । निवेदनलाई आधार बनाएर वैशाख १३ देखि संसदको विशेष अधिवेशन चलेको थियो ।

एमालेको सरकार हटाउने कांग्रेससहितका विपक्षी दलको तयारी जनमोर्चाका सांसद शाहीले तत्कालका लागि असफल पारिदिएका छन् ।

सदन अनिश्चितकालका लागि स्थगित भएपछि सभामुख अधिकारी उपस्थित नहुँदा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्न सकेन ।

कांग्रेस संसदीय दलका उप–नेता मेखलाल श्रेष्ठले सांसद हराएका कारण सदन स्थगित हुनु ठीक भएको बताएका छन् ।

जनमोर्चाका सांसदले बुधबारका लागि सरकार जोगाइदिएपछि मुख्यमन्त्री गुरुङ आफ्नै संसदीय दलभित्रबाट खतरामा परेका छन् ।

कर्णालीमा फ्लोर क्रस गरेका माधव नेपाल समूहले गण्डकीमा नगर्ला भन्न सकिँदैन । गण्डकीमा रहेका नेपाल समूहका एक मात्र सांसद इन्द्रलाल सापकोटाले फ्लोर क्रस गरेको अवस्थामा प्रदेश सरकार टिक्न सक्दैन ।

सदनमा मतदान गर्न छाडेर अस्पतालको बेडमा पुगेका जनमोर्चा सांसद शाही बुधबार हराए पनि अर्को दिनको बैठकमा मतदान गर्नुपर्नेछ ।

शाहीले पनि सरकारको पक्षमा फ्लोर क्रस गर्ने सम्भावना छ । शाहीको सांसद पद र पार्टीको जिम्मेवारीबाट निष्कासन हुन सक्ने सम्भावना पनि छ ।

जनमोर्चाका सांसद एकढिक्का भएर निर्णय नगर्दासम्म सरकार बन्न नसक्ने र चल्न पनि नसक्ने अवस्था आउँछ ।

संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले प्रदेशसभा विघटनको सिफारिस गर्न सक्छ । राष्ट्रपति शासन लागू हुन सक्छ ।

Published : Thursday, 2021 April 29, 12:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया