ओलीसहित एमालेका ५० केन्द्रीय नेताहरू कन्ट्याक्ट ट्रेसिङमा, बालुवाटारभित्र खैलाबैला

काठमाडौं । एमालेका अध्यक्ष समेत रहेका कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

ऊर्जा, सिचाइँ तथा जलस्रोमन्त्री टोपबहादुर रायमाझी र एमालेका केन्द्रीय सदस्य विष्णु रिजाललाई कोरोना संक्रमण भएपछि ओली कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।

कोरोना संक्रमण भएका मन्त्री रायमाझी मन्त्रिपरिषद र एमालेको केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका थिए ।

केन्द्रीय सदस्य रिजाल पनि बालुवाटारको केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका थिए । बैठकका क्रममा प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापासहितका नेताहरूसँग मास्क नलगाएर सामूहिक तस्वीर खिचाएका थिए । ओलीका सल्लाहकार थापाले स्वास्थ्य प्रोटोकल उल्लेख गरेका थिए ।

केन्द्रीय कमिटीको बैठकलाई ओलीले सम्बोधन गरेका थिए । नेताहरूसँग भलाकुसारी पनि गरेका थिए ।

प्रधानमन्त्री ओलीसहित एमालेका ५० भन्दा बढी केन्द्रीय नेता कन्ट्याक्ट ट्रेसिङमा परेको एमालेका एक नेताले बताएका छन् ।

प्रेस सल्लाहकार थापा ओलीको प्रत्यक्ष सम्पर्कमा रहने गर्छन् । ओली सरकारले २५ जनाभन्दा बढी जम्मा हुन नपाइने सूचना जारी गरिसकेको छ ।

ओलीले आफूले जारी गरेको स्वास्थ्य प्रोटोकललाई उल्लंघन गर्दै आएका छन् । ओलीले बालुवाटारभित्र भिडभाड जम्मा गर्ने गरेका छन् ।

ओलीसहितका एमालेका केन्द्रीय नेताहरू कन्ट्याक्ट ट्रेसिङमा परेपछि एमाले र बालुवाटारभित्र खैलाबैला भएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूले पीसीआर परीक्षणका लागि नमूना दिएका एमालेका एक नेताले बताएका छन् ।

Published : Tuesday, 2021 April 27, 10:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया