गण्डकीमा कांग्रेससहितका दलले एमालेलाई ‘तोरिको फूल’ देखाउने, सांसद सुरक्षित राखियो

पोखरा । सत्तारुढ एमालेले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फेल गराउन विभिन्न हर्कत गर्न थालेपछि नेपाली कांग्रेससहितका दलहरू हाइअलर्टमा बसेका छन् ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा आफ्ना सांसदहरूलाई कडा निगरानीमा राखेका छन् ।

एमालेले सांसदहरूलाई प्रलोभनमा पार्ने सम्भावना भएपछि दलहरूले सांसदहरूलाई एक साथ राखेका हुन् ।

कांग्रेस र माओवादीले आफ्ना सांसदहरूलाई मंगलबारदेखि पोखराको लेकसाइडमा रहेको कुटी रिसोर्टमा राखेका छन् । जसपाले अर्को रिसोर्टमा आफ्ना सांसदलाई राखेको छ ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकाहरूको संख्या नघटोस् भनेर प्रदेश सांसदहरूलाई एक ठाउँमा राखिएको स्रोतले जनाएको छ ।

अविश्वासको प्रस्तावको पक्षमा ३२ भन्दा बढी प्रदेशसभा सदस्यहरूले मत दिने कांग्रेस र माओवादीको अनुमान छ ।

राष्ट्रिय जनमोर्चाले कांग्रेस–माओवादीको गठबन्धनलाई साथ दिने आश्वासन दिइसकेको छ ।

स्वतन्त्र सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेले पनि जनमोर्चाले जता मतदान गर्छ त्यतै मतदान गर्ने भनेपछि कांग्रेस–माओवादीको गठबन्धन झन् बलियो देखिएको छ ।

एमालेबाट मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङलाई बचाउन प्रधानमन्त्री खड्गप्रसाद ओली र उनका सहयोगीहरूले विभिन्न खेलकुद गरेपछि कांग्रेस–माओवादी–जसपाले आफ्ना सांसदहरूलाई सुरक्षित राखेका छन् ।

गण्डकी प्रदेशमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ सांसद गरी २८ जनाले वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

गण्डकी प्रदेशमा एमालेका २७ सांसद छन् । एमाले गण्डकी प्रदेशमा ओलीको असंवैधानिक कदमका कारण नराम्रोसँग पच्छारीसकेको छ ।

कर्णाली प्रदेशमा जस्तै ओलीलाई गण्डकी प्रदेशमा पनि नमिठो पाठ सिकाउने गरेर कांग्रेससहितका दलहरू लागेका छन् । ओली र उनका मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशमा तोरिको फूल देख्ने पक्का जस्तै छ ।

कुनै गडबढी भएन भने वैशाख १५ गते बुधबार गण्डकी प्रदेशमा कांग्रेसको नेतृत्वमा प्रदेश सरकार बन्नेछ । मुख्यमन्त्री कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेल बन्नेछन् ।

Published : Tuesday, 2021 April 27, 12:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया