जनताको जीवन बचाउन कांग्रेसको अनुरोध, ठूला राष्ट्रसँग देउवाले मागे खोप

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा बढेको भन्दै संक्रमितको उपचारका लागि आवश्यक पर्ने सबै तयारी गर्न सरकारसँग आग्रह गरेका छन् ।

सभापति देउवाले सोमबार विज्ञप्ति जारी गरेर कोरोना संक्रमितको उपचार तीव्र गतिमा बढेका कारण उपचारमा विशेष तयारी गर्न अनुरोध गरेका हुन् । उनले युवाहरूमा कोरोनाको संक्रमण बढेको भन्दै चिन्ता जनाएका छन् ।

‘संक्रमण दर तीव्र गतिमा बढेको छ भने संक्रमणबाट गम्भीर बिरामी भएर आईसीयू र भेन्टीलेटरको आवश्यकता पर्नेको संख्या पनि बढ्दो छ’, देउवाले भनेका छन् ।

‘अहिले युवाहरूमा पनि संक्रमण उल्लेख्य रुपमा बढेको छ’, उनले भनेका छन्, ‘संक्रमितहरूको उपचार पूरा गर्न देशको स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति बनेको छ ।’

उनले भने, ‘यस अवस्थामा, परिस्थितिलाई थप जटिल हुन नदिन तत्काल कोभिड–१९ को संक्रमणलाई रोक्ने हर सम्भव उपायहरू गर्न म सरकारसँग माग गर्दछु ।’

सभापति देउवाले संक्रमितहरूको उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामाग्रीहरूको उपलब्धता र स्वास्थ्यकर्मीहरूको मनोवल उच्च राख्न आवश्यक व्यवस्था मिलाउनेतर्फ सरकार गम्भीर हुन माग गर्दछु ।’

देउवाले देश दोश्रो चरणको कोभिड–१९ को संक्रमणको चपेटामा परेको भन्दै आम नागरिकहरूलाई कोभिड–१९ को संक्रमणबाट सुरक्षित राख्न खोप सबैभन्दा भरपर्दो उपाय भएको बताएका छन् ।

खोप लगाउनेतर्फ सरकारले समयमा गम्भीर नहुनाले खोपको समुचित व्यवस्था हुन नसकेको उनले बताएका छन् ।

‘मित्रराष्ट्र भारतबाट शुरुमै दश लाख निःशुल्क खोप प्राप्त भएको कारण ठूलो राहत महशुस भएको थियो । पछि चीनबाट पनि आठ लाख खोप निःशुल्क प्राप्त भई वितरण हुँदैछ’, उनले भने, ‘सहयोगका लागि दुवै मित्रराष्ट्रहरूलाई धन्यवाद दिन चाहन्छु ।’

‘देशको सम्पूर्ण आवश्यकता पूर्तिगर्न हामीलाई अझ ठूलो संख्यामा खोपको आवश्यकता छ’, सभापति देउवाले भनेका छन् ।

‘चाँडोभन्दा चाडो आवश्यक खोपको व्यवस्था मिलाउनेतर्फ ठोस योजनासहित कुटनैतिक सकृयता बढाउन पनि सरकारसँग माग गर्दछु’, सभापति देउवाले विज्ञप्तिमार्फत भनेका छन् ।

‘विकसित मित्रराष्ट्रहरूले खोप उत्पादक संस्थाहरूसँग आ–आफ्नो देशहरूको आवश्यकताभन्दा पनि बढि संख्यामा अग्रिम बुकिङ्ग सुरक्षित गरेको अवस्था छ’, उनले भने, ‘अग्रिम बुकिङ्ग गर्न नसकेका नेपाल जस्ता देशहरूलाई वुकिङ्ग भएको संख्यामध्येबाट खोप सुविधा उपलव्ध गराउन पनि सम्वन्धित मित्रराष्ट्रहरूसँग अनुरोध गर्दछु ।’

देउवाले कोभिड–१९ बाट सुरक्षित हुन, अनिवार्य मास्क लगायतका सुरक्षा व्यवस्था र संक्रमण रोकथामका लागि आवश्यक अन्य स्वास्थ्य सुरक्षा प्रोटोकलको अनुसरण गर्न सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरूलाई अनुरोध गरेका छन् ।

Published : Monday, 2021 April 26, 6:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया