कांग्रेसको बैठकमा सहभागी हुन केन्द्रीय सदस्यहरूलाई नयाँ व्यवस्था

काठमाडौं । नेपाली कांग्रेसको स्थगित भएको केन्द्रीय कार्यसमितिको बैठक वैशाख १५ गते बस्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले स्थगित भएको केन्द्रीय कार्यसमितिको बैठक वैशाख १५ गते २ बजेका लागि बोलाइएको जानकारी दिए ।

यसअघि कांग्रेसको बैठक वैशाख १३ गते बस्ने भनिएको थियो । केन्द्रीय सदस्यहरूको पीसीआर परीक्षण गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको थियो । केन्द्रीय समितिको बैठकमा बस्नुभन्दा अगाडि केन्द्रीय सदस्यहरूले पीसीआर परीक्षणको रिपोर्ट देखाउनुपर्नेछ ।

केन्द्रीय कार्यालय सानेपामा सोमबार केन्द्रीय सदस्यहरूको पीसीआर परीक्षणका लागि नमूना संकलन गरिएको छ ।

केन्द्रीय कार्यसमितिको बैठकमा कोरोना महामारी, १४औँ महाधिवेशन, कांग्रेसको नेतृत्वमा बनाउने भनिएको सरकार लगायतका विषयमा छलफल हुनेछ ।

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरिसकेको छ । संख्या पुग्नेवित्तिकै कांग्रेसले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेछ ।

कांग्रेसले कोरोना महामारी बढेको भन्दै सरकारले कोरोना रोकथाम र उपचारमा उपयुक्त निर्णय गर्न नसकेको भन्दै आलोचना गर्दै आएको छ ।

सरकारले कोरोना रोकथाम र उपचार तथा कोरोनाबाट प्रभावित मजदुर र निम्न आय भएका सर्वसाधारणका विषयमा केही पनि राहत दिन सकेको छैन ।

कांग्रेसले कोरोना प्रभावित मजदुर र अति विपन्नलाई राहतको कार्यक्रम ल्याउन सरकारलाई दवाव दिँदै आएको छ ।

Published : Monday, 2021 April 26, 4:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया