खुमलटारका साइबर सेना पक्राउ, कांग्रेसलाई पनि यसरी बदनाम गरेका थिए

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको हस्ताक्षर दुरुपयोग गरेर फेक डकुमेन्ट तयार पारेर सार्वजनिक गर्ने अनिश तामाङ पक्राउ परेपछि माओवादी केन्द्रभित्र तनाव उत्पन्न भएको छ ।

उज्यालो नेटवर्क नामक अनलाइनमा प्रधानमन्त्री ओलीको हस्ताक्षर दुरुपयोग गरेर फेक डकुमेन्ट तयार पारेर सार्वजनिक गर्ने तामाङलाई प्रहरीले साइबर अपराध र राज्यविरुद्धको अपराधको अधियोगमा पक्राउ गरेको हो ।

तामाङसहित प्रबन्धक दुर्गालाल लामा पनि पक्राउ परेका छन् ।

समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्न पाइँदैन र गर्नु पनि हुँदैन । तर, प्रधानमन्त्रीको हस्ताक्षर दुरुपयोग गरेर हुँदै नभएको निराधार दस्तावेज बनाएर समाचार लेख्नु अक्षम्य अपराध भएको जनाइएको छ ।

प्रहरीले तामाङ र लामालाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाएको छ । यस्ता साइबर सेनाका नाममा अपराध गर्नेहरूलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग उठेको छ ।

उज्यालो नेटवर्क नामक अनलाइनको सम्पादक तामाङले आफ्नो फेसबुकमा प्रधानमन्त्री ओली, प्रेस सल्लाहकार सूर्य थापा लगायतका एमालेका नेताहरूविरुद्ध तस्वीर बिगारेर नानाथरी स्टाटस लेखेका छन् । तामाङले आफ्नो हैसियत भुलेर त्यस्ता कुरा लेख्नुलाई कानूनले साइबर अपराध मान्छ ।

तामाङले नेपाली कांग्रेसकी नेतृ एवम् पूर्वसांसद आरजु राणाविरुद्ध पनि फेसबुकमा जथाभावी लेखेका छन् । तामाङले नेपाली कांग्रेस र नेतृ राणाको मानमर्दन हुने गरेर समाचार पनि सम्प्रेषण गरेका छन् ।

‘सम्पादक हुँ’भन्दैमा तामाङले आफ्नो पदीय जिम्मेवारीको हैसियत भुलेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माओवादीप्रति भक्तिभाव गर्नु पत्रकार आचार संहिताभित्र पर्दैन ।

कुनै दल र विचारप्रति आस्था राख्नु र समाचारमा केही झुकाब रहनु अर्को कुरा हो । तर, माओवादी र माओवादीका नेताहरूको निर्देशनमा प्रधानमन्त्रीको हस्ताक्षर दुरुपयोग गरेर साइबर सेनाकै सरह कार्य गर्ने कुरा पत्रकारिताभित्र पर्दैन ।

सम्पादक तामाङ पक्राउ परेपछि सबैभन्दा तनाब खुमलटारलाई भएको छ । प्रचण्डकी छोरी एवम् स्वकीय सचिव गंगा दाहालले फेसबुकमा स्टाटस लेखेर पक्राउको विरोध गरेकी छिन् ।

प्रहरीले प्रधानमन्त्रीको हस्ताक्षर कीर्ते काण्ड गर्नेहरूलाई तामाङ र लामाको बयानका आधारमा कारबाही गर्नेछ । प्रहरीले अनुसन्धान शुरु गरेपछि कीर्ते काण्ड गर्नेहरूको सातोपुत्लो उडेको छ ।

नेपाल पत्रकार महासंघले पत्रकारहरू पक्राउ परेकोमा विरोध जनाएको छ । आवश्यक परे पत्रकारहरूलाई छुटाउन आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

Published : Monday, 2021 April 26, 11:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया