गण्डकीमा कांग्रेसको भाग्य चम्किने, ओलीका मुख्यमन्त्रीको पद ३ दिनमै फुत्किने पक्का

पोखरा । गण्डकी प्रदेशका कम्युनिस्ट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव सोमबारको प्रदेश सभा बैठकमा टेबुल हुने भएको छ ।

गण्डकी प्रदेश सभाको विशेष अधिवेशन सोमबारदेखि शुरू हुँदैछ । अधिवेशनमा मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुने कांग्रेसका नेता कुमार खड्काले बताए ।

पोखरामा आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबारको विशेष अधिवेशनमा अविश्वास प्रस्ताव टेबुल गर्ने निर्णय गरेको छ । अविश्वासको प्रस्तावउपर वैशाख १५ गते मतदान हुनेछ ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न थालेको चाल पाएपछि कम्युनिस्ट मुख्यमन्त्री गुरुङले मध्य राति वैशाख १ गते संसद अधिवेशन अन्त्यको सिफारिस गरेका थिए ।

चालु संसद अन्त्य भएपछि कांग्रेस, माओवादी र जसपासहितले विशेष अधिवेशन माग गरेका थिए ।

कांग्रेससहितका दलहरूको मागअनुसार प्रदेश प्रमुखले वैशाख १३ गते दिनको २ बजेबाट शुरू हुने गरी विशेष अधिवेशन आह्वान गरेका हुन् ।

गुरुङलाई हटाएर मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई प्रस्ताव गरिएको छ ।

अविश्वास प्रस्तावमा २८ जना सांसदको हस्ताक्षर छ । राष्ट्रिय जनमोर्चाले अविश्वासको प्रस्तावमा सहयोग गर्ने जनाएको छ । ६० सदस्यीय प्रदेश सभामा बहुमत पु¥याउन ३१ मत ल्याउनुपर्ने हुन्छ ।

२७ सदस्यीय एमालेलाई जनमोर्चाले साथ छोडेपछि मुख्यमन्त्री गुरुङ अलपमतमा परेका छन् ।

एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खडकप्रसाद ओलीले मुख्यमन्त्री गुरुङको पद बचाउन विभिन्न तिकडम गरेका छन् ।

तर, यस पटक ओलीको खेलकुद गण्डकी प्रदेशमा काम नलाग्ने भएको छ । यसअघि कर्णाली प्रदेशमा ओलीले आफ्नै पार्टी एमालेभित्रैबाट हण्डर खाइसकेका छन् । ओलीले अब हण्डर खाने पालो गण्डकी र लुम्बिनी प्रदेशमा छ ।

Published : Sunday, 2021 April 25, 8:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया