ओलीविरुद्ध कांग्रेसको सुझबुझपूर्ण निर्णय, बालुवाटारमा खैलाबैला

काठमाडौं । नेपाली कांग्रेसले संख्या पुग्यो भने मात्रै केपी ओली नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएर हटाउने जनाएको छ ।

काठमाडौंको बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा आइतबार बसेको पदाधिकारी बैठकले अविश्वासको प्रस्ताव दर्ता हुने भयो भने ओलीलाई हटाउने गरेरै दर्ता गर्ने निष्कर्ष निकालेको छ । कांग्रेसले आफू खाडलमा फस्ने गरेर अविश्वासको प्रस्ताव नल्याउने उप–सभापति विमलेन्द्र निधिले बताएका छन् ।

‘प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ । नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने छौँ भनेर पहिलानै निर्णय भइसकेको छ’, बैठकपछि सम्वाददाताहरूसँग कुरा गर्दै निधिनले भने, ‘पहल भइरहेको छ ।’

उनले भने, ‘पहल गर्दा जुन संख्या पुग्नुपर्ने थियो, त्यो संख्या हामीलाई पुगिरहेको छैन ।’

‘संख्या नपुग्दा अविश्वासको प्रस्ताव दर्ता गर्नु बुद्धिमान हुँदैन’, निधिले भने, ‘जबजम्म सरकार जाने ग्यारेन्टी हुँदैन तबसम्म अविश्वासको प्रस्ताव राख्ने कुरै हुँदैन ।’

उनले भने, ‘अविश्वासको प्रस्ताव राखेर फेल भयो भने फेरि १ वर्ष प्रस्ताव ल्याउन पाइँदैन । हामी खाडलमा फसिन्छ भन्ने जान्दा जान्दै पूर्ण तयारी नगरिकन अविश्वासको प्रस्ताव ल्याउनु हुँदैन । पहल हामीले गरिरहेका छौँ ।’

कांग्रेसले ओलीलाई पदबाट राजीनामा दिन दवाव दिँदै आएको छ । कांग्रेसको दवावले बालुवाटारलाई ठूलो तनाब हुँदै आएको छ ।

प्रतिनिधि सभा भङ्ग गर्ने ओलीको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने ओली गुटको एमालेबाहेक सबैले दवाव दिँदै आएका छन् । ओलीले अटेर गरेर प्रधानमन्त्रीको कुर्सीमा बसेको आरोप दलका नेताहरूको छ ।

कांग्रेसले कोरोना महामारी रोकथाम र उपचार तयारीका विषयमा सरकारले गृहकार्य निकै ढिला गरेको भन्दै आक्रोश पोखेको छ ।

कांग्रेसले राजधानी लगायत देशका विभिन्न भागमा कोरोना संक्रमित तीव्ररुपमा बढ्दै गएको भन्दै पीसीआर परीक्षण पश्चात केन्द्रीय कार्यसमितिको बैठक बस्ने जनाएको छ ।

वैशाख १३ गते बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Sunday, 2021 April 25, 7:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया