कांग्रेसका कार्यकर्तालाई उद्योग व्यवसायमा संलग्न गराउनुपर्छः खाण

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले राजनीति गर्ने नेता कार्यकर्ताहरूलाई कुनैन कुनै पेशा व्यवसायमा संलग्न गराउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको लगानी रोजगार र पूर्वाधार विशेष समितिले शनिबार लुम्बिनी प्रदेशका नेताहरूसँग आयोजना गरेको जुम मिटिङलाई सम्बोधन गर्दै खाणले राजनीति गर्नेहरूले व्यवसाय गर्दा राम्रो संस्कारको विकास हुने बताए । मुलुकको विकास र समृति कांग्रेसले नै गर्ने खाणले बताए ।

उनले राजनीति गर्नेले व्यवसाय गर्दा आर्थिक अवस्थामा पनि सुधार हुने बताए ।

‘राजनीति मात्रै गरेर हुँदैन । व्यवसाय पनि गर्दा त्यसले धेरै समस्या समाधान हुन्छ’, खाणको भनाइ उदृत गर्दै समितिका सदस्य विमल ढकालले भने, ‘नेता कार्यकर्ताहरूले उद्यम पनि गर्नुपर्छ ।’

पूर्वमन्त्री समेत रहेका खाणले हरेक कार्यर्तालाई सानो भए पनि उद्योग व्यवसाय गर्न सिकाउनुपर्ने बताए । उनले भने, ‘घरको आर्थिक अवस्थामा सुधार भयो भने त्यो कार्यकर्ताले राजनीति पनि राम्रोसँग काम गर्न सक्छ ।’

देशको आर्थिक उत्थानका निमित्त पनि कार्यकर्ताहरूलाई रोजगारीमा लगाउनुपर्ने खाणले बताए । उनले भने, ‘कांग्रेसले आउने चुनावमा पनि टिकट दिँदा उम्मेदवारको कुनै व्यवसाय अथवा केही उद्यम छ कि छैन भनेर ध्यान दिनुपर्छ ।’

समितिका संयोजक एवम् उद्योगपति विनोद चौधरीले कांग्रेसका कार्यकर्ताहरूलाई पैसाको अभावले उद्योग व्यवसाय गर्न समस्या छ भनेर पहिचान गरेर थोरै व्याजमा ऋण दिएर व्यवसायमा संलग्न बनाउनुपर्ने बताए ।

देशको आर्थिक उन्नति र समृद्धिका लागि पनि कार्यकर्ताहरूलाई स्वआर्जनमा लगाउनै पर्ने बताए । उनले पैसा नभएकै कारण कसैले उद्योग व्यवसाय गर्न पाएको छैन भने उसलाई ऋणको व्यवस्था गरिदिनुपर्ने बताए ।

चौधरीले कांग्रेसले अबका दिन कसरी कार्यकर्ताहरूलाई आत्मनिर्भर बनाउन सकिन्छ भनेर योजना बनाउनुपर्ने बताएका छन् ।

चौधरीको सभापतित्वमा भएको कार्यक्रमलाई कांग्रेस नेता योगराज कँडेलले सञ्चालन गरेका थिए ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, मानबहादुर विश्वकर्मा, ईन्द्र बानियाँ, दीपक खडका, उद्योगपति कुश मल्ल, उमेश श्रेष्ठ, अनिल रुंगटा, समितिका सदस्य विमल ढकाललगायतले धारणा राखेका थिए ।

Published : Sunday, 2021 April 25, 1:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया