कांग्रेसले कम्युनिस्ट अधिनायकवाद ढाल्ने, सोमबार ओलीका लागि तनाबको दिन

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली निरंकुश र अधिनायकवादी हुँदै गएको भन्दै आलोचनामा उत्रिएको नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर वैशाख १३ गते सोमबार दिउँसो २ बजेका लागि कार्यसमितिको बैठक बोलाएको जानकारी दिए । सोमबारको बैठकबाट हुने कांग्रेसको निर्णयले ओली र उनका मुख्यमन्त्रीहरूको भविष्य टुंगो लाग्नेछ ।

बैठकमा कोरोना महामारीमा जनताको जीवन कसरी रक्षा गर्ने भन्नेबारेमा पनि छलफल हुनेछ ।

बैठकमा कोरोना महामारीमा जनताको जीवन कसरी रक्षा गर्ने भन्नेबारेमा पनि छलफल हुनेछ । कम्युनिस्ट सरकारका प्रधानमन्त्री ओलीले कोरोना महामारीका बेला स्वास्थ्य मापदण्ड उल्लंघन गरेपछि कांग्रेस रिसाएको छ ।

कोरोना रोकथाम र नियन्त्रण गर्नेभन्दा पनि ओली सरकार बैठक, भेला, उद्घाटनमा सक्रिय भएर कोरोना फैलाउने कार्यमा लागेको आरोप कांग्रेसको छ ।

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । कांग्रेसले आन्तरिक रुपमा तयारी समेत गर्दै आएको छ ।

कांग्रेसकै पहलमा गण्डकी प्रदेश सरकार ढाल्न अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ । कांग्रेसले गण्डकी प्रदेशमा प्रदेश सांसद कृष्णचन्द्र नेपाली पोखरेललाई प्रस्ताव गरेको छ ।

लुम्बिनी प्रदेश सरकारविरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता भएको छ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री माओवादी केन्द्रले पाउनेछ ।

प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष ओलीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको कुर्सी बचाउन हरप्रकारका गतिविधि गरिरहेको कांग्रेसको बुझाइ छ ।

कांग्रेसले ओली सरकारका साथै गण्डकी र लुम्बिनी प्रदेशका कम्युनिस्ट सरकारलाई विस्थापित गर्ने योजना बनाएको छ ।

केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पौडेलले बताएका छन् ।

Published : Saturday, 2021 April 24, 5:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया