कम्युनिस्टका यी नेताको सांसद पद फिर्ता नहुने गरि गुम्यो !

काठमाडौं । माओवादी केन्द्रले एमाले प्रवेश गरेका राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्काको सांसद पद खाइदिने भएको छ ।

खड्काले पार्टी परित्याग गरेको पत्र माओवादीले संघीय संसद सचिवालयमा दर्ता गराएको छ । योसँगै खड्काको पद फुत्किने पक्का भएको हो ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले खड्काले दल परित्याग गरेको पत्र प्राप्त भएको जानकारी दिएका छन् ।

खड्काको पत्र सचिवालयमा दर्ता भएसँगै राष्ट्रिय सभामा दुई सिट रिक्त भएको छ । माओवादी केन्द्रले यसअघि गृहमन्त्री रामबहादुर थापालाई संसदबाट हटाएको थियो ।

सांसदबाट हटेका थापाले पुनः गृह मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिएका थिए ।

थापालाई कारबाही गरिएपछि रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदमा निर्वाचन गर्नका लागि निर्वाचन आयोगले कार्यसूची प्रकाशन गरिसकेको छ ।

एमालेमा प्रवेश गरेका सांसद खड्का लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा माओवादीको तर्फबाट निर्वाचित भएका थिए ।

संसद अधिवेशन चालू रहेको अवस्थामा संसदमा सुनाएपछि सांसद पद गुम्ने व्यवस्था छ । संसद अधिवेशन नभएको अवस्थामा सूचना प्रकाशन गरेपछि पद जानेछ ।

थापाको हकमा पनि यसअघि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सूचना जारी गरेका थिए । पार्टी परित्याग गरेको सूचना संसद सचिवालयमा दर्ता भएपछि सांसद पद नरहने संवैधानिक व्यवस्था रहेको छ ।

एमाले र माओवादी केन्द्रलाई सर्वोच्च अदालतले यथावत अवस्थामा फर्काइदिएपछि नेपालको राजनीतिमा भाँडभैलो मच्चिएको छ ।

माओवादीबाट एमालेमा जाने र एमालेबाट माओवादीमा प्रवेश गर्ने क्रम चलेको छ । एमाले र माओवादीले आफ्ना सांसदहरूलाई धमाधम कारबाही गरिरहेका छन् ।

Published : Friday, 2021 April 23, 10:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया