कांग्रेसले गुमायो अलस नेता, श्रद्धाञ्जलि दिन डा.महत आफै पुगे, देउवा मर्माहत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दोलखा कांग्रेसका पूर्व जिल्ला सभापति देवीप्रसाद न्यौपानेको निधन भएकोमा मर्माहत भएको जनाएका छन् ।

सभापति देउवाले न्यौपानेको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । ‘नेपाली कांग्रेस दोलखाका पूर्व जिल्ला सभापति एवम् महासमिति सदस्य देवीप्रसाद न्यौपानेको निधनको खबरले मलाई दुखित बनाएको छ’, उनले भनेका छन् ।

‘स्वर्गीय न्यौपानेले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो’, देउवाले भनेका छन्, ‘उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको छ ।’

‘न्यौपानेप्रति म भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु’, देउवाले भनेका छन्, ‘उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु ।’

पूर्वसभापति न्यौपानेको ७१ वर्षको उमेरमा तामाकोशी गाउँपालिका वडा नं. ३ मा आफ्नै घर नजिकै रहेको रैकर भन्ने ठाउँमा रुख ढल्दा रुखले थिचेर निधन भएको थियो ।

न्यौपानेको निधनबाट कांग्रेस पार्टीलाई मर्माहत बनाएको शुक्रबार जारी शोक वक्तव्यमा उल्लेख छ । स्व.न्यौपानेले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

न्यौपानेको निधनबाट पार्टीले एक कुशल व्यक्तित्वलाई गुमाएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ ।

‘हाम्रो पार्टी नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुग्न गएको छ’, कांग्रेसले जनाएको छ । पूर्वसभापति स्व. न्यौपानेका श्रीमती, २ छोरा र ५ छोरी छन् ।

यसैबीच, कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले पार्टीको झण्डा ओढाएर पूर्वसभापति न्यौपानेप्रति अन्तिम श्रद्धाञ्जलि दिएका छन् ।

दोलखामा शुक्रबार भएको अन्तिम दाहासंस्कारमा डा.महतले न्यौपानेप्रति श्रद्धाञ्जलि दिएका हुन् । सह–महामन्त्री डा.महत पूर्वसभापति स्व.न्यौपानेलाई अन्तिम श्रद्धाञ्जलि दिन काठमाडौंबाट दोलखा पुगेका थिए ।

डा. महतले भनेका छन्, ‘दोलखा जिल्लाले मात्र नभइ सिङ्गो कांग्रेसले देवीप्रसाद न्यौपाने जस्तो असल कार्यकर्ता गुमाएको छ । उहाँको अपुरणीय क्षति कांग्रेसलाई सधैँ रहनेछ ।’

सह–महामन्त्री डा.महतले स्व.न्यौपानेका परिवाजनलाई शोकलाई शक्तिमा बदलेर न्यौपानेले देखाएको मार्गमा अगाडि बढ्न अनुरोध गरेका छन् ।

Published : Friday, 2021 April 23, 8:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया